बुटवल,१७ जेठ । बुटवलमा रहेका पत्रकारहरुलाई कृतिम बौधिकताको प्रयोग सम्बन्धमा बुटवलमा प्रशिक्षण शुभारम्भ गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीद्वारा आयोजित तालिमको बुटवल उपमहानगरपालिकाका नगर प्रमूख खेलराज पाण्डेयले आइतबार एक कार्यक्रमका बीच उद्घाटन् गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमूख पाण्डेयले नयाँ प्रविधि सम्बन्धमा हरेक पेशाका मानिसहरु जानकार हुनुपर्ने बताउनु भएको छ । युग अनुसारको प्रविधि पछ्याउन नसकिने हो भने पछि परिने बताउँदै सूचना प्रवाह गर्ने जगत पछि पर्ने कुराको कल्पना गर्न नसकीने उहाँको भनाई थियो । पत्रकारहरुलाई सत्य र तथ्यले सधैं प्रश्न गर्ने बताउँदै उहाँले अबको दिनमा एआई प्रविधिको उच्चतम प्रयोग र चुनौतीलाई व्यावसायीक प्रयोजनमा बदल्नुपर्ने बताउनुभयो । सो अवसरमा लुम्बिनी प्रदेश सरकार सूचना तथा सञ्चार प्रतिष्ठानका संयोजक एवं फोनिजका केन्द्रीय सचिव मिलन गाहा, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरे लगायतले बोल्नु भएको थियो । बुटवलमा दश दिनसम्म सञ्चालन हुने तालिममा तस्वीर तथा दृष्य सम्पादन, कृतिम बौद्धिकताको पत्रकारितामा प्रयोग, खोजमूलक समाचार लेखन तथा तथ्यको प्रयोग लगायत विषयमा प्रशिक्षण दिइने फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाले जानकारी दिनुभएको छ । कार्यक्रम फोनिज रुपन्देही उपाध्यक्ष राज चौधरीको स्वागत तथा सचिव आकृति थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।












