काठमाडौँ,१ माघ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत गत भदौ २३ र २४ गते भएको विद्रोहपछि आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेदनशील रहेको बताए । निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने कार्य बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन गर्ने प्रणाली एकीकृत गरी सहज ढंगबाट मतदाता नामावली संकलन गर्न सफल भएको उनले बताए ।
सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।आयोगले सूचना प्रविधिको प्रयोग गर्दै मतदाता नामावली दर्ता, मतदाता नामावली व्यवस्थापन, इभेन्ट ट्रयाकिङ सिस्टम, उम्मेदवारको खर्च व्यवस्थापन प्रणाली, अब्जर्भर व्यवस्थापन, उम्मेदवारको मनोनयपत्र दर्तादेखि निर्वाचनको परिणाम घोषणासम्म कार्य गर्दै आइरहेको छ ।
यसैगरी बाह्य जिल्ला मतदाता नामावली दर्ता, प्रिइन्रोलमेन्ट एवं राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्धता गरेर आयोगले मतदाता नामावली सङ्कलन गर्ने कार्यलाई सहज र पहुँचयोग्य बनाएको छ ।
उद्घाटन कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन व्यवस्थापन कार्यमा सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएर विगतदेखि नै कार्य हुँदै आएको उल्लेख गर्दै प्रविधिको तीव्र विकास र गतिसँगै यसलाई अवलम्बन गर्ने कार्यमा आयोग प्रयत्नशील रहेको बताए ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सूचना प्रविधिको सकारात्मक प्रयोग बढाउँदै यसबाट हुने नकारात्मक असर घटाउनुपर्ने उल्लेख गर्दै सचिव राउतले ‘साइबर हाइजिन’का लागि यस प्रकारका तालिम फलदायी हुने बताए । तालिममा ७७ जिल्ला निर्वाचन कार्यालय र ७ प्रदेश निर्वाचन कार्यालयका कम्प्युटर अपरेटरहरूको सहभागिता छ ।












