काठमाडौं ,३१ असोज। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिबद्धता व्यक्त गरे ।पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै उनले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने औँल्याए । नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दसैँको फूलपातीकै दिनसमेत हजारौँ युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताए । उनले रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवालाई स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्न कांग्रेसले आफ्ना तर्फबाट इमानदार प्रयत्न थाल्नुपर्ने बताए ।











