वेदमा दान संस्कृति
(दर्शन दीप: विषय क्रमांक ४४)
समयको अविराम यात्रामा आज हामी ज्ञानको यो पावन श्रृङ्खलाको चौवालिसौं खुड्किलो पार गरी अगाडि बढ्दै गर्दा, हृदयमा एउटा अलौकिक शान्तिको आभास भइरहेको छ। आजको यो चिन्तन पूर्वीय आस्तिक दर्शनको त्यो मर्ममा केन्द्रित छ, जसलाई हामी ‘दान’ भन्दछौँ। तर, आधुनिक जगतले बुझेको दान र हाम्रा ऋषिमुनिहरूले साक्षात्कार गरेको दानको अवधारणामा आकाश-जमीनको अन्तर छ। आजको दान प्रायः प्रदर्शन वा अहंकारको तुष्टिका लागि गरिन्छ, तर वैदिक वाङ्मयमा दान त ‘यज्ञ’ को एउटा अभिन्न अङ्ग हो, जुन स्वयंको आहुति र विश्व-कल्याणको संकल्पसँग जोडिएको हुन्छ।
वेदका ऋचाहरू पल्टाउँदै जाँदा हामीले के पाउँछौँ भने, यो सृष्टि नै दानको प्रतिफल हो। परम पुरुषले आफूलाई विसर्जित गरेर यो ब्रह्माण्डको रचना गर्नुभयो। ऋग्वेदको ‘दानस्तुति’ सुक्तहरूमा दानलाई केवल भौतिक वस्तुको हस्तान्तरण मात्र मानिएको छैन, बरु यसलाई चेतनाको विस्तार र सामाजिक न्यायको आधारस्तम्भ मानिएको छ। ब्राह्मण ग्रन्थहरूमा दानलाई ‘श्रद्धा’ सँग जोडिएको छ। जबसम्म हृदयमा श्रद्धाको दियो बल्दैन, तबसम्म हातबाट खसेको सुनको असर्फी पनि ढुङ्गा सरह हुन्छ।
ऋग्वेदको दशम मण्डलमा एउटा अत्यन्तै मार्मिक र गम्भीर मन्त्र छ, जसले मानव जातिलाई दानको महिमा र भोकको सत्यता बुझाउँछ:-
न वा उ देवा: क्षुधमिद्वधं ददुरुताशितमुप गच्छन्ति मृत्यव: ।
उतो रयि: पृणतो नोप दस्यत्युतापृणन्मडितारं न विन्दते ॥
(ऋग्वेद १०.११७.१)
अर्थात्, देवताहरूले केवल भोकलाई मात्र मृत्युको कारण बनाएका छैनन्, किनकि भोजन गर्नेहरूको पनि मृत्यु त हुन्छ नै। तर, दान दिने व्यक्तिको धन कहिल्यै घट्दैन, र दान नदिने (कञ्जुस) व्यक्तिले दुःखको समयमा सान्त्वना दिने कोही पनि पाउँदैन।
दार्शनिक भावार्थ: यहाँ ऋषिले कति गहिरो कुरा गरेका छन् भने, धनको स्वभाव नै बग्नु हो। जसरी नदीको पानी बगिरहँदा शुद्ध रहन्छ, त्यसरी नै धन पनि दान प्रवाहमा रहँदा मात्र पवित्र रहन्छ। संग्रहले सडन पैदा गर्छ। यो मन्त्रले हामीलाई सिकाउँछ कि दान अरूका लागि गरिएको उपकार होइन, बरु आफ्नै धन र मनको शुद्धीकरण प्रक्रिया हो। जो बाँडेर खान्छ, उसलाई प्रकृतिले कहिल्यै रिक्त राख्दैन।जब हामी आरण्यक र उपनिषद्को गहिराइमा पुग्छौँ, दानको परिभाषा अझ सूक्ष्म हुन्छ। उपनिषद् भन्छ, ‘दान भनेको वस्तु मात्र होइन, बरु आफ्नो अहम् (Ego) को त्याग हो।’
बृहदारण्यक उपनिषद्मा प्रजापतिले देव, मनुष्य र असुरहरूलाई दिएको ‘द’ अक्षरको उपदेशमा ‘दत्त’ (दान गर) लाई विशेष महत्त्व दिइएको छ। मानिस स्वभावैले लोभी हुने भएकाले उसलाई आफ्नो आर्जनको केही हिस्सा समाजका लागि अर्पण गर्न सिकाइएको हो।
तैत्तिरीय उपनिषद्को यो मन्त्रले दानको विधिलाई अझ स्पष्ट पार्छ:-
श्रद्धया देयम् । अश्रद्धयाऽदेयम् । श्रिया देयम् । ह्रिया देयम् । भिया देयम् । संविदा देयम् ॥ (तैत्तिरीय उपनिषद् १.११.३)
अर्थात्, श्रद्धापूर्वक दान दिनुपर्छ, अश्रद्धापूर्वक दिनु हुँदैन। आफ्नो गच्छेअनुसार (लक्ष्मीको कृपाअनुसार) दिनुपर्छ। लज्जापूर्वक (विनम्र भएर) दिनुपर्छ। धर्म/ईश्वरको भय मानेर (कर्तव्य सम्झेर) दिनुपर्छ र विवेकपूर्वक (मैत्रीभावले) दिनुपर्छ।
दार्शनिक भावार्थ:- यो मन्त्रले दानको ‘मनोविज्ञान’ बुझाउँछ। दान दिँदा लिने व्यक्तिलाई नीच र आफूलाई ठूलो ठान्नु पाप हो। दान त यस्तो हुनुपर्छ जहाँ दिने हात लिने हातभन्दा तल होस्। विनम्रताको भावमा। “मैले दिएँ” भन्ने अहंकार आयो भने त्यो दान ‘राजसी’ वा ‘तामसी’ बन्न पुग्छ।
आधुनिक सन्दर्भ र वैज्ञानिक सामञ्जस्य
आजको उपभोक्तावादी युगमा, जहाँ मानिस ‘म’ र ‘मेरो’ को साँघुरो घेरामा कैद छ, वैदिक दान संस्कृति एउटा संजीवनी बुटी जस्तै छ। आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ कि ‘Altruism’ (परोपकारिता) ले मानिसको मस्तिष्कमा ‘Dopamine’ र ‘Oxytocin’ जस्ता हर्मोनहरू उत्सर्जन गर्छ, जसले मानसिक तनाव कम गर्छ र दीर्घायु प्रदान गर्छ।सामाजिक दृष्टिकोणले हेर्दा, धनको असमान वितरणले समाजमा द्वन्द्व निम्त्याउँछ। वैदिक ऋषिको दृष्टिमा दान भनेको ‘आर्थिक सन्तुलन’ कायम गर्ने एउटा आध्यात्मिक औजार हो। आजको ‘Corporate Social Responsibility’ (CSR) को जरा कतै न कतै हाम्रा यिनै प्राचीन उपदेशहरूमा लुकेको छ। तर वैदिक दानमा व्यापारिक स्वार्थ हुँदैन, त्यहाँ त केवल ‘ऋण’ बाट मुक्ति पाउने भाव हुन्छ:- जस्तोकि, ऋषि ऋण, देव ऋण र पितृ ऋण।
हाम्रो समाजमा दानका विभिन्न आयामहरू छन्:-
१. विद्या दान: ज्ञानको प्रसार गर्नु, जुन सबैभन्दा उत्तम मानिन्छ।
२. अभय दान: डराएकालाई सुरक्षा दिनु र कसैलाई पनि भयभीत नपार्नु।
३. अन्न दान: भोको पेटलाई तृप्त पार्नु।
४. अर्थ दान: अभावमा परेकालाई आर्थिक सहयोग गर्नु।
निष्कर्ष र व्यवहारिक पक्ष
वैदिक दर्शनको यो ज्योतिलाई अब हामीले व्यवहारमा उतार्न ढिलो गर्नु हुँदैन।मन्दिर वा संस्थाहरूमा दान गर्नका अतिरिक्त तपसिल अनुसारका कार्य पनि अपेक्षित छ:-
• साधकका लागि: आफ्नो साधना र समयको केही अंश समाजको चेतना स्तर सुधार्न लगाउनु नै वास्तविक दान हो।
• गृहस्थका लागि: आफ्नो कुल आम्दानीको कम्तीमा १० प्रतिशत भाग (दशांश) निस्वार्थ रूपमा दीन-दुःखी वा सेवा कार्यमा लगाउने संकल्प गरौँ।
• समाजका लागि: खाद्यान्न खेर नफालौँ, भाेकालाई अन्नदान गरौं। आफ्ना पुराना पुस्तक र लुगाहरू आवश्यक भएकालाई हस्तान्तरण गर्ने संस्कार बसालौँ।
• नव वर्ष, जन्म दिवस, वैवाहिक वर्षगाँठ लगायतका शुभ अवसरमा देवालय, गुरुकुल, शिक्षालय, चिकित्सालय, अनाथालय आदिमा अन्न दान, वस्त्रादि दान, पुस्तक तथा सामाग्री, नगद तथा जिन्सी आदि आवश्यकता अनुसारको दानबाट उत्सवकाे थालनी गर्नुपर्छ।
दान भनेको वस्तुको विसर्जन होइन, बरु ममताको विसर्जन हो। जब हामी ‘इदं न मम’ (यो मेरो होइन) भन्न सिक्छौँ, तब मात्र हामी साँचो अर्थमा मनुष्य बन्छौँ। आजको यो चिन्तनले तपाईँको हृदयमा सानो भए पनि त्यागको अंकुरण गरोस्, यही नै प्रार्थना छ।
शुभमस्तु।












