काठमाडौँ,३० कार्तिक । काठमाडौँ । निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार बसेको आयोग बैठकले प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीका प्रक्रिया तथा मितिहरू तय गर्दै कार्यक्रम सार्वजनिक गरेको हो।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यसपछि सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । यस्तै, समानुपातिक तर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि लागू हुनेछ। राजनीतिक दलहरूले मंसिर २१ गते बिहान १० बजेदेखि मंसिर २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा सहभागी हुन निवेदन पेस गर्नुपर्नेछ।
दलहरूको नामावली मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रकाशन गरिने छ। पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय निर्धारण गरिएको छ।
माघ २० गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समानुपातिक बन्दसूची अन्तिम रूपमा प्रकाशित गरिने आयोगले जनाएको छ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका मतदान केन्द्रहरूमा मतदान हुनेछ। 












