
काठमाडौ,७ साउन । सरकारले मधेस प्रदेशका आठ वटा जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्री रमेश लेखकको सिफारिसमा विपद संकटग्रस्त घोषणा भएको हो।
तीन महिनाका लागि उक्त मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मधेश प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो ।
मधेसमा पानी नपरेर सुख्खा भएको, पर्याप्त पानी भरण हुन नसकेको, मुहान सुकेको, पानीको चरम अभावका कारण सिँचाइमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणाको माग गरेको हो ।
‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने ।
यसैगरी ‘उपदफा १ बमोजिमको अवधिभित्र विपदबाट उत्पन्न स्थिति नियन्त्रण हुन नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अवधि बढाउन सक्ने,’ पनि उल्लेख छ ।