निस्दी गाउँपालिमा युवाहरुले सडक स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउन धर्ना

  • पाल्पा,२७ जेठ । पाल्पाको निस्दी गाउँपालिमा युवाहरुले सडक स्तरोन्नतिका लागि ध्यानाकर्षण गराउन धर्ना दिएका छन् । निस्दी गाउँपालिकाको मुख्य पहुँच मार्गको सडक रामपुर–बेलडाँडा–ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत स्तरोन्नति हुन नसकेको भन्दै सोमबार धर्ना सहित ध्यानाकर्षण पत्र बुझाएको हो । सडक निर्माणमा सरकारको ध्यानाकर्षण गराउन निस्दी आवाज युवा सञ्जालका युवाहरुले निस्दी गाउँपालिकाको कार्यालयमा पुगेर विहान साढे ११ देखि १२ बजे सम्म धर्ना दिएको हो । सडक खण्ड अन्तर्गत नवलपुरको अरुणखोला देखि जलुकेघाट सम्मको सडक पिच भैसकेको पनि निस्दी गाउँपालिकाको मुख्य पहुँच मार्गको रुपमा रहेको पाल्पा तर्फको सडक अझै स्तरोन्नति नहुँदा स्थानीयलाई सास्ती भएको भन्दै ध्यानाकर्षणका लागि धर्ना दिएको युवाहरुले बताएका छन् निस्दीलाई उपहार धुलो र हिलो, सडक स्तरउन्नतिमा किन ढिलो’, ‘निस्दीलाई विकास भिर माथिको फल बन्यो, बाटो खन्यो माकुरी रहरो झै गाडी गुल्टेर काल बन्यो’, ‘जनतालाई सास्ती भो, बिर्स्यौ दुर्घटना अस्तीको ’, लगाएतका प्ले कार्ड सहित उपस्थित युवाहरुले मित्याल बजार परिक्रमा गरी धर्ना दिएका थिए । धर्ना पश्चात ध्यानाकर्षण सहितको पत्र निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुलाई हस्तान्तरण गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation