लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड

  • लुम्बिनी,९ मंसिर। विश्वशान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल पवित्र लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा थप उजागर गर्दै बुद्ध परिपथको पर्यटन विकास र प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनी सांस्कृतिक नगरपालिका र अमेरिकाको टेक्सासस्थित नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्रबीच सहकार्य तथा समन्वयसम्बन्धी महत्त्वपूर्ण बैठक सम्पन्न भएको छ।
    लुम्बिनीमा सम्पन्न उक्त बैठकमा लुम्बिनीको विश्वव्यापी पहिचान विस्तार, धार्मिक तथा आध्यात्मिक पर्यटनको विकास, बुद्ध परिपथसँग जोडिएका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। बैठकले लुम्बिनीको पर्यटन विकासलाई स्थानीय तहको सीमाभित्र मात्र नराखी विश्व समुदायसम्म पुर्‍याउन अन्तर्राष्ट्रिय नेपाली समुदाय, विभिन्न सामाजिक संघसंस्था तथा सरोकारवाला निकायसँग सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ।
    बैठकमा आगामी दिनमा लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचारप्रसार, नेपाली सांस्कृतिक पहिचानको विस्तार, पर्यटन प्रवर्द्धनका कार्यक्रम तथा विभिन्न साझेदारीका गतिविधिलाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल भएको थियो। लुम्बिनी सांस्कृतिक नगरपालिका तथा बुद्ध परिपथसँग सम्बन्धित नगरपालिकाहरूबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।
    यस अवसरमा दुवै पक्षले लुम्बिनीको पर्यटन विकासलाई दीर्घकालीन योजनासँग जोड्दै अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। विदेशमा रहेका नेपालीहरूको ज्ञान, अनुभव, सम्पर्क र संस्थागत सञ्जाललाई नेपालको धार्मिक तथा सांस्कृतिक पर्यटन विकासमा उपयोग गर्न सके लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान थप फराकिलो बनाउन सकिने विश्वास व्यक्त गरिएको थियो।
    बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन, नगर प्रवक्ता इनामुल्लाह फकिर, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, उपसचिव हरिप्रसाद ज्ञवाली, तुलसीराम लामिछाने तथा नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र, टेक्सास, अमेरिकाकी अध्यक्ष सीता सापकोटालगायतको उपस्थिति रहेको थियो।
    लुम्बिनीको पर्यटन विकास र अन्तर्राष्ट्रिय पहिचान विस्तारका लागि भएको यो पहलले स्थानीय सरकार र विदेशमा रहेका नेपाली समुदायबीच नयाँ सहकार्यको सम्भावना सिर्जना गरेको छ। बुद्धको जन्मभूमि लुम्बिनीलाई विश्वशान्ति, आध्यात्मिकता, धार्मिक पर्यटन र नेपाली सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न यस्ता सहकार्य तथा साझेदारीले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation