परासी,८ मंसिर । आगामी स्थानीय तह निर्वाचनमा रामग्राम नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गर्दै नेपाली कांग्रेसका एक सक्रिय क्रियाशील सदस्यले पार्टीसँग अवसर र विश्वासको अपेक्षा गरेका छन्।
नेपाली कांग्रेसमा एक दशकभन्दा लामो समयदेखि सक्रिय रूपमा आबद्ध रहँदै आएका उनले पार्टीले अवसर र जिम्मेवारी प्रदान गरेमा आगामी स्थानीय निर्वाचनमा रामग्राम नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिने आफ्नो दृढ इच्छा सार्वजनिक गरेका हुन्।
शैक्षिक तथा प्राविधिक क्षेत्रमा उच्च योग्यता हासिल गरेका उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT) बाट पूर्ण छात्रवृत्तिमा कन्स्ट्रक्सन इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर म्यानेजमेन्ट विषयमा स्नातकोत्तर गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला पूर्वाधार र पुनर्निर्माण आयोजनामा काम गरेको १० वर्षभन्दा बढीको व्यावसायिक अनुभवसमेत उनीसँग रहेको छ।
आफ्नो शैक्षिक ज्ञान, प्राविधिक दक्षता र व्यावसायिक अनुभवलाई आफ्नै क्षेत्र रामग्रामको विकासमा समर्पित गर्ने उद्देश्यसहित नगरप्रमुख पदमा नेतृत्व गर्ने आकांक्षा राखेको उनको भनाइ छ।
उनले रामग्रामको विकासलाई परम्परागत कार्यशैलीबाट माथि उठाउँदै आधुनिक सोच, प्राविधिक ज्ञान, दीर्घकालीन योजना र पारदर्शी कार्यसम्पादनका आधारमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
उनको विकास योजनामा व्यवस्थित सहरीकरण र दीर्घकालीन नगर गुरुयोजना निर्माण, गुणस्तरीय सडक तथा ढल निकास, दिगो पूर्वाधार विकास, रामग्राम स्तूपलाई अन्तर्राष्ट्रिय बौद्ध पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी युवाका लागि रोजगारी र सीप विकास, उद्यमशीलता प्रवर्द्धन, आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकका उत्पादनको उचित बजार व्यवस्थापन, गुणस्तरीय सामुदायिक शिक्षा, सहज स्वास्थ्य सेवा तथा स्वच्छ र हरित नगरपालिका निर्माणलाई समेत उनले प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
नगरपालिकाको विकास बजेट, ठेक्का प्रक्रिया र विकास आयोजनामा पारदर्शिता तथा जवाफदेहिता कायम गर्दै प्रत्येक वडा र समुदायको आवश्यकताअनुसार सन्तुलित विकास गर्नुपर्ने उनको धारणा छ।
उनले उपलब्ध स्रोतसाधन र बजेटको प्रभावकारी उपयोग, संघीय तथा प्रदेश सरकारसँग समन्वय र विकास साझेदारसँग सहकार्य गरी योजनाबद्ध रूपमा नगरको विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन्।
‘विकासको मूल्यांकन भाषण, शिलान्यास र उद्घाटनबाट होइन, नागरिकको जीवनमा आएको परिवर्तनबाट हुनुपर्छ। सबै कुरा एकैपटक परिवर्तन गर्छु भन्ने खोक्रो आश्वासन होइन, सही योजना, इमानदार प्रयास र जिम्मेवार कार्यान्वयनमार्फत रामग्राममा सकारात्मक परिवर्तन ल्याउनु मेरो सोच हो,’ उनले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
रामग्रामसँग धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा आर्थिक विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले ती सम्भावनालाई व्यवहारमा उतार्न सक्षम, दूरदर्शी र परिणाममुखी नेतृत्व आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसको संगठनमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले पार्टीले आफ्नो अनुभव, योग्यता र क्षमताको मूल्यांकन गरी आगामी स्थानीय निर्वाचनमा नगरप्रमुख पदका लागि अवसर र विश्वास प्रदान गर्ने अपेक्षा गरेका छन्।
घोषणाभन्दा कार्यान्वयन, आश्वासनभन्दा परिणाम र राजनीतिक स्वार्थभन्दा जनताको हितलाई प्राथमिकता दिने प्रतिबद्धतासहित उनले रामग्रामको समृद्धि र रूपान्तरणका लागि आफ्नो नेतृत्वदायी भूमिका अघि बढाउने आकांक्षा व्यक्त गरेका छन्।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










