दाङ, ८ मंसिर । दाङको राप्ती गाउँपालिकामा स्थानीय मौलिक कला, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘परम्परागत भैलो महोत्सव–२०८३’ मंगलबार सम्पन्न भएको छ।
राप्ती गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ स्थित श्रीचौरमा सम्पन्न महोत्सवमा १५ वटा भैलो समूहले सहभागिता जनाएका थिए।
सहभागी समूहले स्थानीय कला, संस्कृति, भेषभूषा र परम्परागत पहिचान झल्किने देउसीभैलो प्रस्तुत गरेका थिए।
राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष पहलवान चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रवक्ता चौधरीले भौतिक विकाससँगै स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो।
कला र संस्कृतिको संरक्षणबिना समाजको समग्र पहिचान जोगाउन नसकिने उहाँको भनाइ थियो।
पछिल्लो समय आधुनिकताको प्रभावसँगै परम्परागत कला, संस्कृति र मौलिक भेषभूषा ओझेलमा पर्दै गएको उल्लेख गर्दै उहाँले तिनको संरक्षण र पुस्तान्तरणका लागि यस्ता महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
आफ्नो कला, संस्कृति र भेषभूषाको संरक्षणका लागि सम्बन्धित समुदाय नै अग्रसर हुनुपर्नेमा जोड दिँदै उहाँले गाउँपालिकाले आवश्यक नीति तथा कार्यक्रममार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, महोत्सव सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले स्थानीय मौलिक कला, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो। उहाँले एक पुस्तामा रहेको संस्कार र संस्कृतिलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्न यस्ता महोत्सव महत्त्वपूर्ण माध्यम बन्ने उल्लेख गर्नुभयो।
देउसीभैलोलाई मनोरञ्जनमा मात्रै सीमित नराखी मौलिक संस्कृति, सामाजिक एकता र स्थानीय पहिचानसँग जोडेर संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
महोत्सवमा सहभागी भैलो समूहलाई गाउँपालिकाले यातायात खर्चसमेत उपलब्ध गराएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गर्नुभएको थियो।
गाउँपालिकाले स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि परम्परागत भैलो महोत्सव आयोजना गर्दै आएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










