बुटवल, ६ मंसिर । जागरण मिडिया सेन्टरको आयोजनामा बुटवल उपमहानगरपालिकाका निर्वाचित दलित महिला जनप्रतिनिधिहरूसँग आईतबार छलफल कार्यक्रम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाका महिला जनप्रतिनिधिहरुको सञ्जालसँग गरिएको छलफलमा सहभागीहरुले कार्यपालिकादेखि वडा कार्यालयसम्म आफूहरुले गरेका काम र अनुभव तथा आगामि योजनाका बारेमा जानकारी प्रस्तुत गरेका हुन् । कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्माले पदमा पुगेपछि गरिने काम नै महत्वपूर्ण हुने बताईन । उनले दलित महिला जनप्रतिनिधिहरूले राजनीतिक दलभित्र आफ्नो दावेदारी बलियो बनाउनुपर्ने र दलित तथा महिलाका मुद्दामा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिईन ।
विश्वकर्माले जनप्रतिनिधिहरूको अनुभव र नेतृत्वलाई जोड्दै स्थानीय तहमा दलित अधिकार सम्बन्धी ऐन निर्माणका लागि पहल गर्न आग्रह गरिन ।
सञ्जालकी संयोजक तथा कार्यपालिका सदस्य बसन्ती विश्वकर्माले दलित समुदायका सवालमा काम गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै जनप्रतिनिधिको पदबाट बाहिरिए पनि छुवाछुत र विभेदविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
सञ्जालकी सहसंयोजक तथा बुटवल उपमहानगरका कार्यपालिका सदस्य सुनिता खड्लुकले दलित समुदायलाई एकजुट बनाउने, नेतृत्व विकास गर्ने र दलित अधिकारसम्बन्धी ऐन निर्माणका लागि प्रयास भइरहेको बताईन्।
छलफलमा सहभागी जनप्रतिनिधिहरूले पाँच वर्षको कार्यकालमा आफूहरूले विभिन्न जिम्मेवारी सम्हाल्ने अवसर पाए पनि दलित महिलाको नेतृत्वलाई राजनीतिक दल, समुदाय र समाजले अपेक्षित रूपमा स्वीकार गर्न नसकेको अनुभव सुनाए ।
वडा नं २ की कुमारी दर्नालले पाँच वर्षको अवधिमा पटक–पटक कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हालेको बताउँदै अब वडा सदस्यभन्दा माथिको पदमा रहेर काम गर्न तयार रहेको बताईन । वडा नं. ८ की सविता विकले दलित महिलाहरू आर्थिक तथा सामाजिक अवस्थाका कारण निर्वाचनमा सहभागी हुन कठिनाइ भोगिरहेको बताईन ।
सञ्जालकी सचिव तथा वडा नं १३ की सदस्य कृष्णा सुनारले दलित जनप्रतिनिधिलाई दलित समुदायको मत प्राप्त भए पनि सम्मान र विश्वासको कमी रहेको बताईन । कार्यक्रममा वडा नं ४ की गोमा नेपाली, वडा नं ५ की विन्दु विक, वडा नं ९ की माया परियार, वडा नं १५ की मञ्जु दर्जीलगायतले पनि आफ्ना अनुभव सुनाएका थिए ।
जागरण मिडिया सेन्टरका विनाेद परियार, पत्रकार फूलु सुनार, कृष्ण रणपालले दलित समुदायका मुद्दा निरन्तर उठाउन र महिला तथा कार्यपालिका सदस्यहरूलाई संविधानले अधिकार दिएको बताउँदै समुदायको अपेक्षालाई समेत पूरा गर्नेगरी काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरूको अनुभव, चुनौती र आगामी राजनीतिक नेतृत्वका सम्भावनाबारे छलफल गरिएको जागरण मिडिया सेन्टरका महासचिव जगलाल नेपालीले जानकारी दिए ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










