नेपाल लायन्स सेवा संस्थाको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न

  • बुटवल, ५ मंसिर । नेपाल लायन्स सेवा संस्था (Nepal Lions Service Organization–NLSO) को प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। संस्थाको बुटवल हिलपार्कस्थित सचिवालयमा आयोजित सभामा संस्थाको सांगठनिक अवस्था, भावी कार्ययोजना, सामाजिक सेवाका गतिविधि तथा संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।
    संस्थाका अध्यक्ष पुरुषोत्तम भक्त प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पीका डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा लायन्स अभियानमा आबद्ध विभिन्न तहका पदाधिकारी, अग्रज लायन्स व्यक्तित्व तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले लायन्स अभियान केवल एउटा सामाजिक संस्था मात्र नभई मानवता, सेवाभाव र आपसी सहयोगको उत्कृष्ट अभियान भएको बताउनुभयो। उहाँले समाजमा रहेका विभिन्न समस्या पहिचान गरी आवश्यकतामा परेका समुदायसम्म सेवा पुर्‍याउनु लायन्सको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो। लायन्स अभियानलाई अझ प्रभावकारी बनाउन संस्थागत एकता, आपसी समन्वय, पारदर्शिता र सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।
    उहाँले सामाजिक सेवाका क्षेत्रमा लायन्सले पुर्‍याउँदै आएको योगदानलाई थप विस्तार गर्दै शिक्षा, स्वास्थ्य, मानवीय सहायता, विपद् व्यवस्थापन तथा सामुदायिक विकासका गतिविधिमा प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। साथै नयाँ पुस्तालाई लायन्स अभियानसँग जोड्दै सेवाभाव र नेतृत्व विकासको अवसर प्रदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
    सभामा संस्थाका अध्यक्ष पुरुषोत्तम भक्त प्रधानाङ्गले संस्थाको उद्देश्य, स्थापना र भावी योजनाका विषयमा धारणा राख्दै संस्थालाई सेवामूलक, उत्तरदायी र क्रियाशील संगठनका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सदस्यहरूको सक्रियता, सहकार्य र एकताबाट संस्थाले आगामी दिनमा सामाजिक सेवाका क्षेत्रमा थप महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
    सभामा संस्थाका उपाध्यक्ष बालाराम भट्टराई, सचिव सन्दीप कसौधन, कोषाध्यक्ष अर्चित श्रेष्ठ तथा सदस्यहरू अर्जुन मान सैँजु र सुलोचना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
    सभामा संस्थाको सांगठनिक गतिविधि, सदस्यहरूको भूमिका, संस्थागत व्यवस्थापन, भावी कार्यक्रम तथा सामाजिक सेवाका सम्भावित क्षेत्रका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले संस्थालाई उद्देश्यअनुरूप अगाडि बढाउन सबै सदस्यबीच सहकार्य, समन्वय र जिम्मेवारीबोध आवश्यक रहेको धारणा राखेका थिए।
    कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी आशिष कृष्ण श्रेष्ठले गर्नुभएको थियो।
    नेपाल लायन्स सेवा संस्थाले आगामी दिनमा लायन्सको मूल मन्त्र ‘We Serve’ (हामी सेवा गर्छौँ) लाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा आफ्नो भूमिका थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। संस्थागत एकता, मानवीय सेवा र समुदायको हितलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धतासहित प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation