सफल उद्यमी सुनिलकृष्ण श्रेष्ठ कसजुसँग NYEF रुपन्देहीको Learning Session सम्पन्न

  •  

    बुटवल, १५ कार्तिक । नेपाल युवा उद्यमी मञ्च (NYEF) रुपन्देहीको आयोजनामा शनिबार सफल उद्यमी तथा सिद्धिविनायक मोटर्सका सञ्चालक सुनिलकृष्ण श्रेष्ठ कसजुको उपस्थितिमा ‘Learning Session’ कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा कसजुले “One Entrepreneur, Multiple Businesses: The Art of Managing It All” विषयमा आफ्ना व्यावसायिक अनुभव, सिकाइ र सफलताका सूत्रहरू सहभागी युवा उद्यमीहरूमाझ प्रस्तुत गर्नुभयो।

    एउटा उद्यमलाई सफलतापूर्वक सञ्चालन गर्दै कसरी विभिन्न व्यवसाय विस्तार गर्न सकिन्छ भन्ने विषयमा उहाँले समय व्यवस्थापन, वित्तीय अनुशासन, दक्ष जनशक्ति परिचालन, नेतृत्व क्षमता र व्यवसायबीचको सन्तुलनबारे आफ्ना व्यावहारिक अनुभवहरू साझा गर्नुभयो। साथै, व्यवसाय विस्तारका लागि सही समय पहिचान, चुनौतीको सामना र दीर्घकालीन सोचको महत्त्वबारे पनि प्रकाश पार्नुभयो।

    कार्यक्रमको सञ्चालन तथा सहजीकरण NYEF रुपन्देहीकी सम्मानित सदस्य प्रबिना घिमिरेले गर्नुभएको थियो भने स्वागत मन्तव्य मासिक कार्यक्रम संयोजक अनुभवमान सैंजुले राख्नुभएको थियो।

    कार्यक्रममा सहभागी उद्यमीहरूले वक्तासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना जिज्ञासा राखेका थिए। अनुभवमा आधारित छलफल र अन्तरक्रियाले सहभागीहरूलाई व्यवसाय सञ्चालन तथा विस्तारका नयाँ दृष्टिकोण र प्रेरणा प्रदान गरेको थियो।

    NYEF रुपन्देहीले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यावसायिक ज्ञान आदानप्रदान र उद्यमशील संस्कृतिको विकास गर्ने उद्देश्यले नियमित रूपमा यस्ता सिकाइ तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभिन्न उद्यमशीलता सम्मेलन, बुट क्याम्प, तालिम तथा इन्क्युबेसन कार्यक्रममार्फत नयाँ उद्यमी उत्पादन र स्थानीय व्यवसायको प्रवर्द्धनमा मञ्चले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

    रुपन्देहीमा उद्यमशीलताको सुदृढ वातावरण निर्माण गर्दै यस क्षेत्रलाई नेपालको आर्थिक राजधानीका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्यसहित NYEF रुपन्देही आफ्नो अभियानमा निरन्तर अगाडि बढिरहेको अध्यक्ष अनिश कसौधनले आफ्नो धन्यवाद मन्तव्यका क्रममा बताउनुभयो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation