बुटवल ,१३ कार्तिक । सूचना प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीलाई डिजिटल शिक्षासँग जोड्ने उद्देश्यले आईसीटी क्लब अफ कालिका र इन्टर्याक्ट क्लब अफ बुटवलको संयुक्त आयोजनामा पाल्पाको भैरवस्थानमा ‘डिजिटल होराइजन’ कार्यक्रम सञ्चालन हुने भएको छ।
यहीँ कात्तिक १६ देखि २० गतेसम्म सञ्चालन हुने चारदिने अभियानअन्तर्गत भैरवस्थानका तीन विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिने इन्टर्याक्ट क्लब अफ बुटवल अध्यक्ष निलेश पाण्डेय जानकारी दिए । उक्त कार्यक्रम श्री भैरव जनता माध्यमिक विद्यालय, भैरव मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुल र लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। दुवै संस्थाका सदस्यहरू विद्यालयमै पुगेर विद्यार्थीलाई कम्प्युटर तथा इन्टरनेटको सही प्रयोग, साइबर सुरक्षा, व्यावहारिक प्राविधिक ज्ञान र सूचना प्रविधिको क्षेत्रमा उपलब्ध अवसरबारे प्रशिक्षण दिनेछन्।
प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको कार्यक्रमले विद्यार्थीहरूमा प्रविधिप्रतिको रुचि बढाउनुका साथै डिजिटल सीप विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ। आईसीटी क्लब अफ कालिकाले विगत ४ वर्षदेखि सञ्चालन गर्दै आएको डिजिटल होराइजन अभियानमार्फत हालसम्म १५ भन्दा बढी विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीलाई डिजिटल शिक्षासम्बन्धी ज्ञान प्रदान गरिसकेको अध्यक्ष पाण्डेय बताए । नेपालको सूचना प्रविधि क्षेत्रलाई थप सशक्त बनाउँदै देशलाई आईटी हबका रूपमा विकास गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिइएको आयोजकको भनाइ छ।
कार्यक्रमलाई रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको बेसिक एजुकेसन एन्ड लिटरेसी कार्यक्रमले मुख्य प्रायोजन गरेको छ। त्यस्तै, कर्नर एकेडेमी एकेडेमिक पार्टनरका रूपमा रहेको छ भने डाइनामिक एजुकेसनल कन्सल्टेन्सी, रुद्रगढ तथा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज प्रायोजकका रूपमा रहेका छन्।
त्यसैगरी, लियो क्लब अफ अल्फा कालिका, रोटरी क्लब अफ बुटवल, रोटर्याक्ट क्लब अफ बुटवल र रोटर्याक्ट क्लब अफ सेन्ट्रल भ्याली काष्ठमण्डपले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका छन्।
युवा नेतृत्व, प्राविधिक ज्ञान र सामाजिक उत्तरदायित्वलाई एकै ठाउँमा जोडेर सञ्चालन गर्न लागिएको यस अभियानले ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिको पहुँचमा ल्याउनुका साथै डिजिटल नेपालको लक्ष्य प्राप्तिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?
लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा अमेरिकी नेपाली संस्थासँग सहकार्य गरिने लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली आध्यात्मिक सांस्कृतिक केन्द्र टेक्सासबीच समन्वय बैठक सम्पन्न, बुद्ध परिपथको विश्वव्यापी प्रचारप्रसारमा जोड
लुम्बिनी प्रदेशमा शुभारम्भ भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान हिंसा प्रभावितलाई दोष होइन, साथ दिनुपर्छः मुख्यमन्त्री आचार्य










