धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन गृहमन्त्री समक्ष पेश

  • काठमाडौँ,२९ फागुन। गत ११ फागुन धादिङमा भएको बस दुर्घटनाबारे गठित छानबिन कार्यदलले आफ्नो प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष बुझाएको छ।
    सहसचिव ऋषिराम तिवारी नेतृत्वको छानबिन कार्यदलले शुक्रबार प्रतिवेदन पेश गर्दै रात्रि कालिन बसमा डिजिटल निगरानी प्रणाली लागू गर्न सिफारिस गरेको मन्त्रालयले जनाएको छ। कार्यदलले सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन, रात्रिकालीन बसमा अधिकतम कार्य समय निर्धारण, अनिवार्य विश्राम र डिजिटल निगरानी प्रविधि लागू गर्न सुझाव राखेको छ।
    प्रतिवेदन ग्रहण गर्दै मन्त्री अर्यालले कार्यदलका निष्कर्ष र सिफारिसलाई अध्ययन गरी आवश्यक कदम तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखराबाट धादिङतर्फ आउँदै गरेको रात्रीबस बेनिघाट रोराङ-५ स्थित त्रिशूली नदीमा खस्दा १९ जनाको ज्यान गएको थियो भने २५ जना घाइते भएका थिए। उक्त कार्यदलले घटना के, कसरी र कसको लापरबाही वा कमजोरीले भएको देखिन्छ, घटनामा ज्यान गुमाएका यात्रुहरूका परिवारलाई के–कस्तो राहत उपलब्ध गराउन सकिन्छ, आगामी दिनमा यस्ता घटना हुन नदिन विभिन्न निकायले चाल्नुपर्ने कदमहरूलगायतका विषयमा अध्ययन गरेर सरकारलाई राय दिएको छ । उक्त कार्यदलले तत्काल सार्वजनिक सवारी चालक थकान व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने, रात्रीकालीन बस सञ्चालनमा चालकको अधिकतम कार्यसमय र अनिवार्य विश्रामको व्यवस्था लागू गर्नुपर्ने, सार्वजनिक सवारीमा अनिवार्य डिजिटल निगरानी प्रविधि लागू गर्नुपर्ने राय दिएको छ ।
    प्रतिवेदन बुझ्दै गृहमन्त्री अर्यालले प्रतिवेदन चाँडो कार्यान्वयनमा लैजाने बताउनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation