रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण

  • पाल्पा ,६ असोज । रामपुर नगरपालिका भित्रका एकल आमाहरुलाई टुकी फाउण्डेशनले घर निर्माण गरी हस्तान्तरण गरेको छ । फाण्डेशनले अमेरिकी संस्था निवासको सहयोग र रामपुर नगरपालिकाको आर्थिक साझेदारीमा भुकम्प प्रतिरोधी घर निर्माण गरी मंगलबार जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा हस्तान्तरण गरेको हो ।
    १६ वर्ष भन्दा कम उमेरका छोराछोरी भएका तीन जान एकल आमाहरुहरुलाई भुकम्प प्रतिरोधी दुई कोठे घरसहित शौचालय निर्माण गरी हस्तान्तरण गरेको हो । फउण्डेशनले गत वर्ष रामपुर नगरपालिका वडा नं. २, ४ र ६ मा तीन वटा घर निर्माण गरेको थियो । रामपुर नगरपालिका– २, खयरबोटका बन्दना विश्वकर्मा, वडा नं. ४ छतिवन डाँडाका विष्णु माया राना र वडा नं. ६ माझटोलका गन माया घर्तिलाई घरको ताला र साँचो हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले श्रीमान गुमाउनु भएका साहारा विहिन महिलाहरुलाई सुरक्षित आवास प्रदान गर्नका लागि टुकी फाउण्डेशनको सहकार्यमा घर निर्माण गरिएको जानकारी दिनुभयो । नगरपालिकाले विपन्न परिवार संगै साहारा विहिन नागरिकहरुको लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
    उहाँहरुको आवश्यकताको पहिचान गरी तीन वटा घर निर्माण भएको र यस वर्ष पनि थप घर निर्माणको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । आवासले मात्र परिवारले परिवार चलाउन सहज नहुने भन्दै स्वरोजगारका लागि पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले श्रीमान गुमाउँदाको पीडा संगै बस्नको लागि उपयुक्त घर नहुँदा समस्या झेल्दै आउनु भएका विपन्न एकल आमाहरुको लागि घर निर्माणले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । बालबालिकाको शिक्षा संगै आयआर्जनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
    टुकी फाउण्डेशनका कार्यकारी निर्देशक शिला सेनले घर निर्माणको लागि प्रति घर निर्माणमा रामपुर नगरपालिकाको दुई लाख ५० हजार र अन्य खर्च फाउण्डेशनको गरी ८ लाख १४ हजार ६८० रुपियाँ १२ पैसा बराबरको खर्च भएको जानकारी दिनुभयो । आवास निर्माणमा ६० प्रतिशत फाउण्डेशनले र पालिकाले ४० प्रतिशत गरी विभिन्न स्थानमा आवास निर्माण गर्दै आएको जानकारी दिनुभयो । फाउण्डेशनले गास, बास र कपासको समस्या भएका एकल आमा तथा पिछडिएका समुदायमा आवश्यकताको पहिचान गरी कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
    फाउण्डेशनले विभिन्न जिल्लाहरुमा ५० वटा भन्दा बढी घर निर्माण गरी हस्तान्तरण गर्दै आएको बताउनुभयो । पालिकाहरुको सहकार्यमा निर्माणको काम हुने भएकाले सरकारी मापदण्ड अनुसार भुकम्प प्रतिरोधी घर निर्माण खरिद प्रक्रिया अनुसार गर्दै आएको जानकारी दिनुभयो । घर हस्तान्तरण पश्चात एकल आमाहरुको जीविकोपार्जनमा सहजताका लागि उहाँहरुले इच्छा गरेको व्यवसाय सञ्चालनका लागि ३० हजार प्रदान गरिने बताउनुभयो ।
    कार्यक्रम सम्बन्धीत परिवार मै पुगेर गरिएको थियो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर राना, रामपुर नगरपालिका २ का वडा अध्यक्ष कृष्ण बहादुर दर्जीले सम्बन्धीत एकल आमाहरुको अवस्थाको बारेमा जानकारी दिदै साथ सहयोगका लागि आभार व्यक्त गर्नु भएको थियो । उहाँले आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । घरको साँचो प्राप्त भएपछि खुशी व्यक्त गर्दै एकल आमाहरुले फाउण्डेशन र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । यस अघि भुकम्पले चर्किएको पुरानो घरमा बस्दै आउनु भएका रामपुर ४ का विष्णु माया रानाले घर निर्माणको लागि फाउण्डेशन र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नुभयो । वडा नं. ६ का गन माया घर्तिले चिटिक्कको घर पाउँदा खुशीको सिमा नरहेको बताउनुभयो । वडा नं. २ का बन्दना विश्वकर्माले पनि खुशी व्यक्त गर्नुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation