ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न, ज्ञानप्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

  • बुटवल,४ असोज । ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले ज्ञानप्रसाद खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

    एक भव्य समारोहबीच प्रतिनिधिसभा सदस्य माननीय हरिप्रसाद भुसालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन गर्दै सांसद भुसालले ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सामाजिक एकता, आपसी सहकार्य र रचनात्मक गतिविधिमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउनुभयो।

    उहाँले समाजले ढाकावाङ्गवासीलाई रुपन्देहीमा संगठित गर्दै जन्मभूमिको विकास, सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोड्ने महत्वपूर्ण काम गरिरहेको उल्लेख गर्नुभयो। ढाकावाङ्गको पहिचान र गौरवलाई रुपन्देहीमा स्थापित गर्दै समाजले समग्र अर्घाखाँची जिल्लाकै शिर उच्च बनाउने काम गरेको उहाँको भनाइ थियो।

    सांसद भुसालले सामाजिक संस्थाहरू केवल भेटघाट र कार्यक्रम गर्ने माध्यम मात्र नभई समुदायको आवश्यकता पहिचान गरी सहयोग, सहकार्य र सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। उहाँले नयाँ नेतृत्वले संस्थालाई अझ गतिशील र प्रभावकारी बनाउँदै सबैलाई समेटेर अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

    कार्यक्रममा भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले विभिन्न क्षेत्र र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन सम्पर्क समाजहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

    धारापानीका अध्यक्ष रामप्रसाद भुसाल, असुरकोटका सचिव गीता बन्जाडे, धनचौरका प्रतिनिधि दिलीप पौडेललगायतले शुभकामना मन्तव्य राख्दै समाजको संस्थागत विकास र सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी काम गर्न सुझाव दिनुभयो।

    संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालले आफ्नो कार्यकालमा संस्थाले गरेका गतिविधि तथा आगामी योजनाका विषयमा धारणा राख्नुभएको थियो। सचिव नारायणप्रसाद भुसाल ‘बाबु’को सञ्चालन तथा उपाध्यक्ष युवराज खनालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो।

    अधिवेशनबाट ज्ञानप्रसाद खनाल अध्यक्ष, नारायणप्रसाद भुसाल ‘बाबु’ र टेकराज भुसाल उपाध्यक्ष, शिवलाल खनाल सचिव, मेघराज खनाल सहसचिव, लेखनाथ खनाल कोषाध्यक्ष तथा शान्ता खनाल सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।

    त्यस्तै सदस्यहरूमा रामबहादुर अधिकारी, दुर्गा आचार्य (खनाल), प्रेम खनाल, हिमाल खनाल, पुष्पा भुसाल, गौरव खनाल र योगेश खनाल निर्वाचित हुनुभएको छ। एक सदस्य पद भने रिक्त रहेको छ।

    यसैगरी लेखा समितिको संयोजकमा गोविन्दप्रसाद भुसाल तथा सदस्यहरूमा ढुण्डिराज खनाल र फुलमाया बन्जाडे निर्वाचित हुनुभएको छ।

    नवनिर्वाचित अध्यक्ष ज्ञानप्रसाद खनालले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण आजीवन तथा साधारण सदस्यप्रति आभार व्यक्त गर्दै संस्थालाई अझ व्यवस्थित, पारदर्शी, गतिशील र सबैको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    नयाँ नेतृत्व चयनसँगै ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले सामाजिक एकता, सहकार्य र सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation