बुटवल,११ भदौ । रुपन्देही व्यापार संघमा पछिल्लो समय परिवर्तित कर नीति तथा करदाता प्रोत्साहन उपहार कार्यक्रम लगायतका विषयमा कर शिक्षा कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा संघका अध्यक्ष प्रकाश ढकालले करसम्बन्धी नीतिमा हुने परिवर्तनबारे व्यवसायीलाई समयमै जानकारी गराउनु आवश्यक रहेको भन्दै कर प्रशासन र व्यवसायीबीचको सहकार्यले कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने बताए । कर प्रणालीमा सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने सरकारको नीतिअनुरूप आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तथा परिवर्तित कर नीतिबारे व्यवसायीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष श्रीकृष्ण पोखरेलले व्यवसायीका लागि कर शिक्षा कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले करसम्बन्धी नयाँ नीति तथा कानुनी व्यवस्थाबारे व्यवसायीलाई नियमित रूपमा जानकारी गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रमका प्रमुख सहजकर्ता आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले पछिल्लो समय परिवर्तन भएका कर नीतिका विषयमा व्यवसायीलाई जानकारी गराएका थिए । उनले आन्तरिक राजस्व विभागले उपभोक्तामा वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल÷बीजक लिने बानीको विकास गराउने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ कार्यान्वयनमा ल्याएको जानकारी दिए ।
उनले एकपटकमा कम्तीमा १०० रुपैयाँ मूल्यको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई सक्कली बिल दिन व्यवसायीलाई आग्रह गरे । उपभोक्तालाई बिल नदिने व्यवसायीलाई कारबाही हुने उनले बताए । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको उक्त कार्यक्रमको मुख्य उद्देश्य कर प्रणालीमा पारदर्शिता ल्याउनु, कर अनुपालन बढाउनु तथा कर छली नियन्त्रण गर्नु रहेको उनले बताए । यो कार्यक्रम सफल बनाउन व्यवसायी तथा उपभोक्ता सबैको साथ र सहयोग आवश्यक रहेकोमा पोखरेलले जोड दिए ।
यस्तै आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत पर्शुराम पोखरेलले करसम्बन्धी डकुमेन्ट प्रस्तुत गर्दै व्यवसायीका विभिन्न जिज्ञासा तथा प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा सहभागि व्यवसायीहरुले विभिन्न जिज्ञासा तथा प्रश्नबारे जानकारी पाएकोमा खुसी व्यक्त गरे । संघका वरिष्ठ उपाध्यक्ष दयानिधी भण्डारीको धन्यवाद ज्ञापन तथा महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।











