रामपुर नगरपालिकाले तीज विषेश कार्यक्रमका लागि छुट्याएको बजेट बाढी पिडितका लागि सहयोग गर्ने

  • पाल्पा,११ भदौ । रामपुर नगरपालिकाले बाढी पिडितका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको छ । भाद्र १० गते बुधवार विहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पिडित परिवारका लागि राहत स्वरुप आर्थिक सहयोग गर्ने भएको हो । नगरपालिकाले प्रत्येक वर्ष गर्दै आएको उपप्रमुख तिज विशेष कार्यक्रम स्थगित गरी उक्त कार्यक्रमका लागि विनियोजन गरेको बजेट बाढी पिडितलाई सहयोग गर्ने भएको छ । नगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । नगरपालिकाले तिजगित प्रतियोगिताका लागि विनियोजन गरेको २ लाख ५० हजार रुपैयाँ रकम सहयोग गर्ने निर्णय गरेको रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले जानकारी दिनुभयो । विपदको समयमा पिडित परिवारलाई केही राहत होस भन्ने उद्देश्यले कार्यक्रम नै स्थगन गरी सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । देश नै शोकमा डुबेको समयमा प्रतियोगितात्मक कार्यक्रम भन्दा पिडित परिवारलाई राहत पुर्‍याउनु तीन तहका सरकार र सबैको जिम्मेवारी भएको उपप्रमुख थापाले बताउनु भएको छ ।बाढी पिडितका लागि पालिकाको तर्फबाट छलफल गरेर थप सहयोग गर्ने उपप्रमुख थापाले बताउनुभयो । अप्रत्यासित रुपमा नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना सहित वेपत्ता भएकाहरुको खोजी कार्यमा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । साथै विपदको समयमा चाडपर्वका नाममा विभिन्न कार्यक्रम गर्नु भन्दा सबै एक भएर क्षमता अनुसारको राहत सहयोग गर्न अनुरोध गर्नु भएको छ । उहाँले नगरपालिकाभित्रका नगरबासीहरु पनि सो क्षेत्रमा काम र भ्रमण तथा यात्राको क्रममा रहेको र उनिहरुको सम्पर्क र खोजविन भई रहेको जानकारी दिनुभयो ।उपप्रमुख थापाले सो क्षेत्रमा गएका नगरबासीहरु जो कोही सम्पर्कमा नभए सम्बन्धित वडाको वडा अध्यक्षलाई जानकारी गराई खोजविन तथा विवरण संकलनमा सहयोग गर्न आग्रह समेत गर्नु भएको छ ।महिला लक्षित कार्यक्रम अन्तर्गतको उपप्रमुख तीज विशेष कार्यक्रमको बजेट मार्फत गरिने सहयोग प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा दाखिला गरिने महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा शाखा प्रमुख पुजा परियारले जानकारी दिनुभयो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation