प्रदेश गौरव र बहुवर्षीय आयोजना पहिलो प्राथमिकतामा, त्यसपछि अधुरा योजनाः मुख्यमन्त्री आचार्य

  • बुटवल,१० बैशाख । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटमा योजना छनोटका लागि स्पष्ट प्राथमिकता निर्धारण गर्दै प्रदेश गौरव र बहुवर्षीय आयोजनालाई पहिलो प्राथमिकतामा राख्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री चेतनारायण आचार्य ले अधुरा आयोजना सम्पन्न गर्नु दोस्रो प्राथमिकता रहने र त्यसपछि मात्रै नयाँ आयोजना समावेश गरिने बताउनुभएको हो ।
    उहाँले प्रदेशको वास्तविक आर्थिक अवस्थाभन्दा एक रुपैयाँ पनि बढी बजेट नबनाउने प्रतिबद्धता दोहो¥याउँदै यथार्थपरक बजेट निर्माणमा जोड दिनुभयो । हाल करिब ६ अर्ब हाराहारीमा रहेको राजश्वलाई आगामी आर्थिक वर्षमा साढे ६ अर्बसम्म पु¥याउने प्रक्षेपण गरिएको जानकारी दिनुभयो ।‘आगामी बर्षको बजेट यथार्थ अवस्थामा टेकेर निर्माण गर्नेछौं । आवश्यकता र औचित्यको आधारमा बजेट हुनेछ’उहाँले भन्नुभयो,‘पहिलो प्राथमिकता प्रदेश गौरव र बहुबर्षिय आयोजनालाई राख्नेछौं । दोस्रो प्राथमिकता अधुरा आयोजना सम्पन्न गर्ने हुनेछ । त्ययपछी मात्रै नयाँ आयोजना समावेश हुनेछन् ।’
    मुख्यमन्त्री आचार्यले विगतका कमजोरीबाट शिक्षा लिएर सुधार गर्दै अघि बढ्ने उल्लेख गर्दै बजेट आवश्यकता र औचित्यका आधारमा निर्माण गरिने बताउनुभयो । जिल्ला समन्वय समितिलाई अनुगमनसँग जोड्न ऐन संशोधन गरिएको र स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई समेत अनुगमनमा सहभागी गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
    संविधानले निर्दिष्ट गरेको अधिकार क्षेत्रभित्र तीनै तहका सरकार स्वतन्त्र रूपमा अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको हो । तीन तहका सरकार कसैका इकाइ नभई आफ्नै अधिकारसहित स्वायत्त रहेको उहाँको भनाइ थियो ।
    लुम्बिनी प्रदेशले विगतको तुलनामा राजश्व संकलनमा सुधार गर्दै गएको उल्लेख गर्दै उहाँले बागमती प्रदेशपछि राजश्व संकलनमा लुम्बिनी अग्रस्थानमा रहेको बताउनुभयो । कार्यक्रम आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation