गीताको मृुत्यु प्रकरणमा थप दुई डाक्टर समातिए, पाँच जना अनुसन्धानको घेरामा

  • बुटवल,९ बैशाख । पाल्पा जिल्लाको बगनाशकाली गाउँपालीक वडा न २ की २९ वर्षीया गीता पाण्डेको गर्भपतनका क्रममा मृुत्यु भएपछि बुटवलका दुई चिकित्सक प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीले खत्री नर्सिङ होमका सञ्चालक डा.डीबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका डा. सतिष रुपाखेतीलाई नियन्त्रणमा लिएर अुनुसन्धान सुरु गरेको छ। यसअघि घटनासँग जोडिएका जोनल फार्मेसीका सन्ध्या बस्नेत, निलम घर्ती मगर तथा इन्दुलेखा क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे पुक्राउ परिसकेका छन्। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार मंगलबार साँझ दुई चिकित्सक आफैं उपस्थित भएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो। अन्य तीन जनालाई भने जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। मृतकका पति प्रकाश पाण्डेले आर्थिक लाभको उद्देश्यले उपचारमा गम्भीर लापरबाही भएको आरोप लगाउँदै पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। चैत २७ गते खत्री नर्सिङ होममा गर्भ परीक्षणका लागि पुगेकी थिइन्। त्यहाँ असामान्य गर्भ रहेको भन्दै उनलाई वैशाख ५ गते पुनः बोलाइएको थियो। तर नर्सिङ होममै उपचार नगरी उनलाई अर्को क्लिनिकमा पठाइएको बताइएको छ। जोनल फार्मेसीमार्फत औषधि दिएर इन्दुलेखा स्वास्थ्य क्लिनिक पुर्‍याइएकी पाण्डेको गर्भपतन गराउने क्रममा मृुत्यु भएको आरोप छ। पति प्रकाशका अनुसार पत्नी बेहोस भइसकेपछि आफूलाई जानकारी नदिई लुम्बिनी सिटी अस्पताल लगिएको र त्यहाँ मृत घोषणा गरिएको थियो। उनले गर्भपतन सम्बन्धी जानकारी नदिइएको र उपचारसम्बन्धी कागजातसमेत लुकाइएको दाबी गरेका छन्। प्रहरीले घटनामा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याउने जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation