क्वालालम्पुर , ७ बैशाख । मलेसियाको सबाह राज्यस्थित एक तटीय जलगाउँमा भएको आगलागीमा करिब एक हजार अस्थायी घरहरू जलेर नष्ट भएका छन् । सो घटनापछि हजारौँ मानिस विस्थापित भएका छन् । आगलागी आइतबार बिहान स्यान्डाकन जिल्लाको जल गाउँमा सुरु भएको हो, स्थानीय प्रहरी प्रमुख जर्ज अब्द रकमानका अनुसार करिब ९ हजार मानिस यस घटनाबाट प्रभावित भएका छन् । उनले यसलाई ‘अत्यन्त ठुलो र दुःखद घटना’ भनेका छन् । सबाह अग्नि तथा उद्धार विभागका अनुसार करिब १ हजार घरहरू पूर्ण रूपमा जलेका छन् । जुन करिब १० एकड क्षेत्रफलमा फैलिएको थियो । विभागले बिहान करिब १ः ३० बजे आगलागीको जानकारी पाएको र ३७ जना उद्धारकर्मी परिचालन गरेको जनाएको छ ।साँघुरो बाटोका कारण घटनास्थलसम्म दमकल पुग्न नसक्दा आगलागी नियन्त्रणमा कठिनाइ भएको बताए। यस घटनामा अहिलेसम्म कसैको मृत्यु वा गम्भीर घाइते भएको खबर आएको छैन । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले सङ्घीय सरकार र राज्य सरकार मिलेर प्रभावित परिवारलाई तत्काल राहत, अस्थायी आवास र आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् । प्राथमिकता प्रभावितको सुरक्षा र आपत्कालीन सहायता रहेको उनले बताएका छन्।










