पाल्पा,२० बैशाख । सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा पाल्पा,तिनाउ-१, कचलकाे कचल कृषि सहकारी संस्था लि.ले स्थानीय युवा वर्ष माध्यमिक विद्यालयमा शैक्षिक व्यवस्थापन तथा टीम बिल्डिङ्ग तालिम आईतवार सम्पन्न गरेकाे छ ।
दमकडा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समिति,पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले विद्यालय व्यवस्थापन समितिकाे काम,कर्तव्य, अधिकार र यसका क्षेत्रलगायत पद्वतिगत रुपमा विद्यालय सञ्चालन, व्यवस्थापनका लागि जिम्मेवार पक्षले खेल्नुपर्ने भूमिका विषयमा सहजीकरण गरेका थिए । उनले स्थानीय साधन र स्राेत अधिकतम विकास गर्दै विद्यालयलाई नमूना बनाउन सकिने बताए । त्यसका लागि शिक्षकहरुकाे लगनशीलता र समितिकाे हातेमालाे जरुरी हुने उल्लेख गरे । साेही अवसरमा विद्यालय व्यवस्थापन समिति,शिक्षक-अभिभावक संघ, अभिभावक,शिक्षक र विद्यार्थीबीच टीम निर्माण, व्यवस्थापन,याेजना निर्माण, कार्यान्वयनमा भूमिका र अब्बल विद्यालय बनाउनका लागि समन्वय, सहकार्य र सहयात्राका निम्ति अपनाउनु पर्ने विधि,प्रक्रिया र पद्धतिका बारेमा शैक्षिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । 
विद्यालयका प्रधानाध्यापक सुरज कार्कीले तालिममा आफ्नाे टीमले प्राप्त गरेकाे ज्ञान,सीप र धारणालाई विद्यालयकाे उन्नति र प्रगतिका लागि खर्चिने बताए । सिकाईलाइ व्यवहारसँग दाँजेर अघि बढ्न तालिमबाट उत्प्रेरणा मिलेकाे प्रअ कार्कीले उल्लेख गरे ।
कचल कृषि सहकारीका अध्यक्ष भाेजबहादुर छहरीले आफ्नाे सहकारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्नमात्र नभई गाउँकै युवा वर्ष माविलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रकाे रुपमा विकास र सहयाेग गर्न आफूहरु कटिबद्ध रहेकाे बताए ।
शिक्षाले नै हरथाेककाे उन्नयन हुने भएकाले आफ्नाे सहकारीले शिक्षालाई सामाजिक विकास,आर्थिक विकास र रुपान्तरणकाे मियाे मानेर नै सक्दाे लगानी गरेकाे जानकारी गराए ।
तालिममा विद्यालय व्यवस्थापन समिति,शिक्षक-अभिभावक संघ, शिक्षक,विद्यार्थी,अनुगमन उपसमिति र शिक्षाप्रेमीलगायत चार दर्जन बढीकाे उपस्थिति थियाे ।












