नवलपुर,१४ फागुन । नवलपुरको अपाङ्गता आन्दोलनमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै आएका सागर लुइँटेल सामाजिक न्याय, समावेशिता र मानवीय गरिमाका लागि समर्पित एक प्रेरणादायी व्यक्तित्व हुन्। समाजमा अपाङ्गता भएका व्यक्तिहरू अझै पनि उपेक्षा, असमानता र अवसरको अभावसँग जुध्न बाध्य छन्। यस्तो चुनौतीपूर्ण परिवेशमा उनले आफ्नो जीवनको महत्वपूर्ण समय अपाङ्गता समुदायको अधिकार, सम्मान र सशक्तीकरणका लागि समर्पित गर्दै उनीहरूकै आवाज बनेका छन्।
स्वयं अपाङ्गता भएपछि सेवा–सुविधा खोज्दा अपेक्षित सहयोग नपाएको अनुभवले उनलाई झनै दृढ बनायो। “कसैले वास्ता नगरेको क्षेत्रमा केही गर्नुपर्छ” भन्ने अठोटका साथ उनले अपाङ्गता आन्दोलनलाई जीवनकै लक्ष्य बनाए। व्यक्तिगत स्वास्थ्य चुनौतीका बाबजुद आत्मसन्तुष्टि, कर्तव्यबोध र समुदायप्रतिको अपनत्वले उनलाई निरन्तर सक्रिय बनाइरहेको छ।
प्रमुख सामाजिक योगदान
वि.सं. २०६५ सालदेखि अपाङ्गता क्षेत्रमा क्रियाशील सागर लुइँटेलले पुनःस्थापना अभियान, सहायक सामग्री वितरण, तालिम तथा सशक्तीकरण कार्यक्रम सञ्चालनमा अग्रणी भूमिका निर्वाह गरेका छन्। उनको नेतृत्वमा कावासोतीमा ९ कोठे पुनःस्थापना केन्द्र भवन निर्माण सम्पन्न भएको छ भने चोरमारामा पुनःस्थापना भवन निर्माण कार्यसमेत सफलतापूर्वक सम्पन्न भएको छ, जसले धेरै अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा आशा र सहाराको केन्द्र निर्माण गरेको छ।
उनी पुनःस्थापना केन्द्र नवलपरासी (DRCN) का सचिवका रूपमा ३ वर्ष र अध्यक्षका रूपमा ५ वर्ष कार्यरत रहे। केन्द्रका पूर्व अध्यक्षसमेत रहेका उनी अपाङ्गता पुनःस्थापना समन्वय परिषद्का संस्थापक अध्यक्ष हुन्। साथै राष्ट्रिय महासंघ गण्डकी प्रदेश कार्यसमितिका पूर्व सदस्यका रूपमा प्रदेश स्तरमा समेत सक्रिय योगदान दिएका छन्।
सामाजिक जिम्मेवारी र सहभागिता
सागर लुइँटेल विभिन्न स्थानीय संरचनाहरूमा रही नीति निर्माण तथा विकास प्रक्रियामा पनि संलग्न रहे। साबिक नारायणी गाउँविकास समितिमा योजना तर्जुमा, सरसफाइ, खानेपानी र शिक्षा समितिमा ६ वर्षसम्म सदस्यका रूपमा काम गर्दै उनले युवा, दलित, जनजाति, ज्येष्ठ नागरिक तथा अपाङ्गता लक्षित वर्ग सञ्जालको संयोजन गरेका थिए।
मध्यबिन्दु र कावासोती नगरपालिकाका योजना तर्जुमा समितिमा सदस्यका रूपमा कार्य गर्नुका साथै मध्यबिन्दु नगरपालिका शिक्षा समिति सदस्य (२०७२) तथा अपाङ्गता लक्षित कार्यक्रमका संस्थापक संयोजकका रूपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे। कावासोती र मध्यबिन्दु नगरपालिकामा समन्वय तथा परिचयपत्र वितरण समितिमा हालसम्म उनको सक्रियता निरन्तर छ।
दर्जनौँ संघ–संस्थामा आवद्ध रहँदै भवन निर्माणदेखि तालिम, पुनःस्थापना, सशक्तीकरण र जनचेतना अभिवृद्धिसम्मका कार्यमा उनले निरन्तर योगदान पुर्याएका छन्।
राजनीतिक यात्रा
सागर लुइँटेल सामाजिक क्षेत्रमा मात्र होइन, राजनीतिक रूपमा पनि सक्रिय छन्। उनी नेकपा (एमाले) निकट जनसंगठन NDC नवलपरासीका संस्थापक अध्यक्ष हुन्। संस्थापक प्रदेश सदस्य हुँदै हाल केन्द्रीय कमिटी सदस्यका रूपमा कार्यरत उनले नगर स्थापना पश्चात मध्यबिन्दु नगर पाटी कमिटी सदस्य हुदै जिल्ला कमिटी सदस्यका रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालेका छन्। विभिन्न निर्वाचनहरूमा सक्रिय सहभागिता जनाउँदै संगठन सुदृढीकरण अभियानमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
प्रतिबद्ध नेतृत्व र प्रेरणादायी व्यक्तित्व
घाम, पानी र चिसोको पर्वाह नगरी संवेदनशील अपाङ्गता समुदायलाई आत्मसम्मानका साथ बाँच्न प्रेरित गर्दै सागर लुइँटेल हरेक सामाजिक अभियानमा अग्रपङ्क्तिमा देखिन्छन्। सामाजिक विकृति, विभेद र कमजोरीविरुद्ध निर्भीक आवाज उठाउने उनको साहस र समर्पणले उनलाई समुदायका लागि भरोसायोग्य नेतृत्वको रूपमा स्थापित गरेको छ।
उनको जीवनयात्राले देखाउँछ—व्यक्तिगत पीडा पनि समाज परिवर्तनको शक्तिशाली प्रेरणा बन्न सक्छ। अपाङ्गता भएका व्यक्तिहरूका लागि अधिकार, अवसर र सम्मान सुनिश्चित गर्न उनले गरेको संघर्ष नवलपुर मात्र होइन, समग्र समाजका लागि उदाहरणीय छ।
सागर लुइँटेल वास्तवमै प्रतिबद्ध सामाजिक तथा राजनीतिक नेतृत्वकर्ता हुन्, जसले आफ्नो कर्ममार्फत मानवता, समानता र समावेशीताको मूल्यलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छन्।












