पाल्पा, १० फागुन । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका खेलाडी उषा भण्डारीलाई रामपुरमा स्वागत सहित सम्मान गरेको छ । रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले आइतबार एक कार्यक्रमका विच स्वागत सहित सम्मान गरेको हो ।
राष्ट्रिय टोलीकी स्पाइकर भण्डारीलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बाल कुमारी थापा, नगर खेलकुद विकास समितका अध्यक्ष कमल सेन सहित समितिका सदस्यहरुले स्वागत सहित सम्मान गरेको हो । सम्मान गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलकुद र खेलाडीले नेपाल र नेपालीलाई विश्व माझ चिनाउने बताउनुभयो ।खेलाडीहरु देशको गौरव र पहिचान भए पनि राज्यले सेवा सुविधा दिन नसक्नु दुखद रहेको बताउनुभयो । नगर प्रमुख थापाले खेल क्षेत्रको विकासका लागि खेलाडीलाई उचित सम्मान र प्रोत्सहान गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाको कार्यालयमा भएको सम्मान कार्यक्रममा बोल्दै नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले रामपुरमा हुने विभिन्न खेलकुद र सहभागि राष्ट्रिय स्तरका खेलाडीको आगमनले नयाँ खेलाडीहरुलाई प्रेरणा प्रदान गरेको बताउनुभयो । राष्ट्रिय टोलीकी स्पाइकर भण्डारीलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको भन्दै यस संगै नयाँ खेलाडीले लक्ष्य बनाउन सघाउ पुग्ने बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले खेलकुद र यसको पूर्वाधार निर्माणमा उदहारणीय काम गरेको भन्दै खेलकुदको विकासका लागि नीतिगत व्यवस्था गरेर अगाडी बढ्नु पर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय महिला भलिबल टोलीका स्पाइकर उषा भण्डारीले तनहुँमा जन्मिए पनि पाल्पा संग पारिवारिक सम्बन्ध भएको र खेलाडीको रुपमा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै धन्यवाद व्यक्त गर्नुभयो ।साथै आफु रामपुरमा खेल खेल्न इच्छुक रहेको भन्दै अनुकुलतामा आफु आउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले गर्नु भएको थियो ।












