एपीएफले जित्यो एन्फा महिला च्याम्पियनसिपको २०८२ को उपाधि

  • काठमाडौ,९ फागुन । महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ ।
    शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। मध्यान्तरपछिको दशौँ मिनटमा एपिएफकी खेलाडी गीता रानाले १ गोल गर्दै टिमलाई अघि बढाइन्। एपिएफकी टिम क्याप्टेनसमेत रहेकी अनिता बस्नेतको किक पासलाई रानाले जालीतर्फ प्रहार गर्दा गोल हुन पुगेको हो। २३ औँ मिनटमा एपिएफकै अर्की खेलाडी रेनुका नगरकोटीले गर्दै टिमका लागि दोब्बर गोल बनाइन्।
    एपिएफले लगातार २ गोल गरेपछि आक्रामक देखिएको आर्मी २६ औँ मिनटमा एक गोल फर्काउन सफल भयो। आर्मीका लागि जेनिफर रानाले १ गोल गरेकी थिइन्। एपिएफ र आर्मीबीचको २–१ गोल अन्तरमै समय सकिएपछि आयोजकले ४ मिनट थप समय दिएको थियो। तर, थप समयको भने दुवै तर्फबाट सदुपयोग हुन सकेन। विजयी एपिएफले उपाधिसहित ७ लाख ५० हजार नगद पुरस्कार पायो। आयोजक एन्फाका महासचिव किरण राई, त्रियुगा नगरप्रमुख बसन्त बस्नेत, उपप्रमुख महेश्वरी राईलगायत अतिथिहरूले विजेता एपिएफका टिमकोच, क्याप्टेनसहित खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे। उपविजेता आर्मीलाई ५ लाख नगद र प्रमाणपत्र प्रदान गरिएको छ।
    प्रतियोगिताको विधागततर्फ उत्कृष्ट गोलरक्षक एपिएफकै अञ्जना राना भइन् भने सर्वाधिक गोलकर्ताको उपाधि पनि एपिएफकै रश्मीकुमारी घिसिङले पाइन्। उत्कृष्ट खेलाडीको उपाधि आर्मीकी दिपा शाही भइन्। उनीहरू तीनैजनालाई जनही ५० हजार नगद र प्रमाणपत्र प्रदान गरियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation