मर्चवारीमाई मा १९ अौं हिउँदे अधिवेशन कार्यक्रम सम्पन्न

  • मर्चवार ,२५ पुस ।रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले शुक्रवार १९ अौं हिउँदे अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनमा चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमको प्रगति समीक्षा, बजेट खर्चको अवस्था, नीति निर्णय तथा सुशासन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको छ ।मर्चवारीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपमन्यु त्रिपाठीले गाउँपालिकालाई अझ सशक्त, समृद्ध, सुशासित र जनमैत्री बनाउने दिशामा निरन्तर प्रयास भइरहेको बताउनु भयो । उहाँले गाउँपालिकाका सेवा, विकास र प्रशासनिक प्रणालीलाई थप प्रभावकारी बनाउँदै यहाँका नागरिकको जीवनस्तर निरन्तर उकासिँदै जाओस् भन्ने हार्दिक कामना व्यक्त गर्नुभयो । मर्चवारीमाई गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका केही योजनामा आवश्यकताअनुसार बजेट रकमान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार जनताको आवश्यकता, विकासको प्राथमिकता र योजना कार्यान्वयनको अवस्थालाई ध्यानमा राख्दै केही योजनामा बजेट संशोधन गरिएको जनाए । यसले अधुरा तथा प्रभावकारी योजनालाई गति दिने र जनताको प्रत्यक्ष सरोकारसँग जोडिएका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अब झिटै नै गाउँपालिकाको प्रशासनिक भवनको प्रकृया अगाडि बढाउदै दुई-चार दिनमै टेन्डर द्वारा निर्माण कार्य अगडि बढाउने जनता समक्ष गरेको बाचा पुरा गर्ने अधिवेशन मार्फत जानकारी गराउनु भयो। अधिवेशनमा वडा अध्यक्ष तथा गाउँसभा सदस्यहरूले आ-आफ्ना वडाका विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सामाजिक सुरक्षा र सेवा प्रवाहसम्बन्धी विषयहरूमा सुझाव तथा धारणा राखेका थिए । साथै बजेट खर्चमा पारदर्शिता, समयमै योजना सम्पन्न गर्ने र बेरुजु न्यूनीकरणका विषयमा समेत छलफल भएको थियो । गाउँपालिकाले आगामी दिनमा सुशासन, पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनमार्फत लिइएका निर्णयहरूले मर्चवारीमाई गाउँपालिकाको समग्र विकास र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation