ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिन्छ:मुख्यमन्त्री आचार्य

  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ललितकलाको प्रवर्द्धन र विकासमार्फत प्रदेशलाई उत्कृष्ट बनाउन सकिने बताउनु भएको छ ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूसँग भेटका क्रममा मुख्यमन्त्री आचार्यले कला र सृजनालाई रोजगारसँग जोड्दै सांस्कृतिक क्षेत्रलाई आर्थिक अवसरको माध्यम बनाइने बताउनु भएको हाे ।

    मुख्यमन्त्री र प्रतिष्ठानबीचको भेटमा सदस्य-सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परिषद् सदस्य प्रदीप अधिकारी र परिषद् सदस्य दिनेश्वर महतो सहभागी हुनुहुन्थ्यो । छलफलमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२, सेरामिक्स हब गढवा, मूर्तिकला बगैंचा (मूर्तिकला उद्यान) लगायतका विषयमा विस्तृत रूपमा कुराकानी भएको थियो ।

    मुख्यमन्त्री आचार्यले ललितकलालाई प्रदेशको पहिचानसँग जोड्दै अनुसन्धान, सिर्जना र सम्मानलाई प्रमुख आधारका रूपमा अघि बढाइने उल्लेख गर्नुभयो । उहाँले ललितकला र सांस्कृतिक सम्पदाको जगेर्नासँगै यस क्षेत्रलाई रोजगारी र पर्यटन प्रवर्द्धनसँग जाेड्न सकिने धारणा राख्नुभयो ।

    ललितकला प्रज्ञा प्रतिष्ठानले आगामी माघदेखि चैत महिनाभित्र रुपन्देहीमा लुम्बिनी प्रदेशस्तरीय ललितकला प्रदर्शनी–२०८२ आयोजना गर्ने तयारी गरेको छ । ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’ भन्ने नाराका साथ हुने प्रदर्शनीमा प्रदेशका दुर्गमदेखि सुगम क्षेत्रका कलाकारहरूलाई सहभागी गराइनेछ ।

    प्रतिष्ठानका अनुसार, प्रदर्शनीबाट छानिएका उत्कृष्ट कलाकृतिहरू राष्ट्रिय ललितकला प्रदर्शनी–२०८३ मा समावेश गरिने छन् । साथै, उत्कृष्ट कलाकारहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, विधागत पुरस्कार र नवप्रतिभा पुरस्कार प्रदान गरिनेछ ।

    यस प्रदर्शनीबाट नेपाली कला र संस्कृतिको जगेर्ना, कलाकारबीच सहकार्य, रोजगारी सृजना र अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाको पहिचान विस्तार हुने अपेक्षा गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation