रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले मानव सेवा आश्रममा १०औँ चार्टर डे मनायो

  • रुपन्देही,९ कार्तिक । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो १०औँ चार्टर डेको अवसरमा रुपन्देहीको भालवारीस्थित मानव सेवा आश्रममा एकदिने ‘अन्नदान कार्यक्रम’ सम्पन्न गरेको छ। कार्यक्रममा आश्रमका करिब १५० जना आश्रितहरूलाई बिहानको नास्ता, मध्याह्न भोजन र बेलुकीको खाना वितरण गरिएको थियो।

    यस सामाजिक सेवामूलक कार्यक्रममार्फत क्लबले सेवा नै परमो धर्म भन्ने भावनालाई व्यवहारमा उतारेको क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा क्लबका १५ जना रोटेरियनहरू, जसमा चार्टर प्रेसिडेन्ट रोटेरियन विमल सेन्चुरी, पास्ट प्रेसिडेन्ट रोटेरियन हीरा बहादुर शाह लगायतका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागी रोटेरियनहरूले आफ्नै हातले आश्रितहरूलाई तयार खाना वितरण गरेका थिए।

    सोही अवसरमा क्लबका रोटेरियन राम थापा र रोटेरियन कमल कार्कीको जन्मदिन पनि संयुक्त रूपमा मनाइयो। दुवैले आफ्नो जन्मदिनको दिनमा समाजका असहायहरूलाई सेवा गर्ने अवसर प्राप्त भएकोमा क्लबप्रति धन्यवाद व्यक्त गरे।

    कार्यक्रमका क्रममा क्लबका तर्फबाट मानव सेवा आश्रमलाई रु. ५१,०००/- नगद सहयोग गरी सो रकम आश्रममा बसोबास गर्ने सबै आश्रितहरूका लागि एकदिने खाना व्यवस्थापनमा प्रयोग गरिने जानकारी रोटेरियन गंगाधर भण्डारीले दिएका छन्।

    मानव सेवा आश्रम लुम्बिनी क्षेत्रका संयोजक सरु अधिकारीले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीलाई हार्दिक आभार व्यक्त गर्दै समाजसेवामा क्लबको निरन्तर योगदान प्रशंसनीय रहेको बताइन्।

    यसैगरी, क्लबले विगतका वर्षहरूमा जस्तै शिक्षा, स्वास्थ्य, वातावरण र मानव सेवाका विभिन्न क्षेत्रहरूमा सक्रिय रूपमा सेवा कार्यहरू गर्दै आएको जानकारी पनि दिइएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation