साहित्य संगम बुटवलको ३२६ औं श्रृङ्खला : शून्यबाट सम्भावनातर्फ

  • बुटवल,२८ भाद्र।साहित्य संगम बुटवलको ३२६ औं मासिक श्रृङ्खला शनिबार न्यू होराइजन मा.वि. कालिकानगर, बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा वरिष्ठ समालोचक ऋषिराम भुसालले प्रस्तुत रचनाहरूको छुट्टाछुट्टै समीक्षा गर्दै साहित्य संगम विषम परिस्थितिमा पनि निरन्तर सञ्चालन हुँदै आएको स्मरण गरे । भुसालले सङ्कटमा सङ्ख्यात्मक सहभागिता भन्दा गुणात्मकता महत्त्वपूर्ण हुने भन्दै साहित्य संगमले त्यसलाई प्राथमिकतामा राखेको मूल्याङ्कन गरे । भुसालले माओसेतुङको भनाइ “क्रान्ति भनेको भोजभतेर होइन, यो रुखो पनि हुन सक्छ ।” उद्धृत गर्दै, कहिलेकाहीँ क्षति पनि सुन्दर बन्न सक्ने र त्यही बाटो हुँदै देशको पुनर्निर्माण र सम्भावना जन्मन सक्ने विचार प्रस्तुत गरे ।

    कार्यक्रमका सभाध्यक्ष लोकनाथ उपाध्यायले साहित्य संगमको मासिक शृङ्खलाले बुटवललाई देशकै साहित्यिक केन्द्रका रूपमा परिचित गराउँदै आएको उल्लेख गर्दै सिर्जनशीलता, चेतना र अभिव्यक्तिलाई निरन्तरता दिनु नै संस्थाको मूल उद्देश्य रहेको बताए । उपाध्यायले साहित्यकार र स्रष्टाहरूबीच संवाद, आलोचना र पारस्परिक सिकाइलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नु साहित्य संगमको प्रमुख उपलब्धि भएको धारणा राखे । यसैबीच, लेखक गणेश घिमिरेले साहित्य सत्यको समर्थन र गलतको विरोधका साथै विकल्प प्रस्तुत गर्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे । उनले, नेपाली समाज र राजनीतिले अहिले खोजिरहेको सबैभन्दा ठुलो आवश्यकता विकल्पको निर्माण हो र साहित्यले त्यसमा अग्रणी भूमिका खेल्न सक्छ ।

    शृङ्खलामा विविध साहित्यिक रचनावाचन, समालोचना र वैचारिक प्रस्तुतीकरणमार्फत सिर्जनशीलता मात्र नभई देशको वर्तमान राजनीतिक अवस्थाप्रतिको चेतनशील दृष्टिकोण समेत उजागर गरिएको थियो । हरि पौडेलको सञ्चालन रहेको शृङ्खलामा कृष्णप्रसाद कोइराला, दलबहादुर गुरुङ, बालकृष्ण भण्डारी, कृष्ण गाउँले, वासुदेव अर्याल, गणेश भण्डारी, यदु लामिछाने, गणेश खनाल, नयन्सा थापा लगायतका स्रष्टाहरूले साहित्यिक रचना प्रस्तुत गरेका थिए । रचनाहरूले नेपाली समाजको यथार्थ मात्र नभई देशको राजनीतिक संक्रमण, निराशा र सम्भावनाबीचको द्वन्द्वलाई कलात्मक ढङ्गले उजागर गरेका थिए ।

    वाचित रचनामा कृष्ण गाउँलेको “शून्य : सम्भावनाको बीज” कविताले विगतका राजनीतिक विफलता, अहिलेको राजनीतिक परिवर्तन, ध्वस्त संरचना र निराशालाई चित्रण गर्दै नयाँ सुरुवातको सम्भावना र क्रान्तिकारी भविष्यतर्फ युवा पुस्तालाई उकास्ने सन्देश दिएको कविताअंश,

    “देश शून्य देखिन्छ
    तर शून्य कहिल्यै अन्त्य होइन,
    शून्य सधैँ सुरुवात हो ! …
    उठ, हे युवाशक्ति !
    उठ, खरानीमाथि हरियो रोप्न !
    उठ, अँध्यारो फोडेर सूर्य जन्माउन !”

    त्यस्तै दलबहादुर गुरुङको “बगर” शीर्षक कविताले परदेशमा रुँदै हिँड्न बाध्य युवाहरू, अभावका खडेरी र विभाजित मनोविज्ञानलाई चित्रण गर्दै देशमै उत्पादनशीलता, श्रम र विश्वासकाे आधारमा नयाँ समाज निर्माणको आवश्यकता देखाएको छ । कवितामा अभाव र विघटनका बीच आशा र सम्भावनाको बगर बगिरहेको सशक्त रूपक प्रस्तुत गरिएको छ ।

    सहभागीहरूको भनाइअनुसार, श्रृङ्खलाले सिर्जनशील अभ्यासलाई निरन्तरता दिनुका साथै, कविताको गहिरो संरचना, राजनीतिक चेतना र वैकल्पिक सोचलाई जोडेर नेपाली साहित्यलाई नयाँ आयाम दिएको छ ।
    नेपाली साहित्यको निरन्तर प्रवर्द्धनका लागि प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको साहित्य संगम बुटवलको मासिक शृङ्खलाले आजको अस्थिर राजनीतिक संक्रमणबीच पनि साहित्यलाई संवाद, आलोचना र पुनर्निर्माणको शक्तिशाली माध्यमका रूपमा अघि बढाउँदै आएको मूल्याङ्कन गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation