
बुटवल,१२ साउन – लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–०८ स्थित सुख्खानगरमा रहेको जनता माध्यमिक विद्यालयमा बृहत् विद्यालय सहयोग कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक सेवा क्रियाकलापहरू सम्पन्न गरेको छ।
कार्यक्रम अन्तर्गत वृक्षारोपण, डस्टबिन वितरण, दन्त स्वास्थ्य सम्बन्धी तालिम तथा सामग्री वितरण, शैक्षिक तथा खेलकुद सामग्री वितरण, साथै विद्यार्थीहरूलाई लक्षित गर्दै झोला वितरणजस्ता विविध कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब अफ बुटवल क्षितिजका अध्यक्ष लायन डाक्टर श्री प्रसाद खरेलको अध्यक्षता तथा क्लबका पूर्व अध्यक्ष लायन शंकर पाण्डेको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू तथा लियो क्लब अफ बुटवल क्षितिजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख आतिथ्य लायन्स डिस्ट्रिक्ट ३२५ पि’ का डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन बलराम भट्टराई रहनु भएको थियो भने विशिष्ट आतिथिका रूपमा निबर्तमान डिस्ट्रिक्ट गभर्नर एमजेफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग सहभागी हुनु भएको थियो । कार्यक्रममा सामुहिक रुपमा विद्यालयमा वृक्षारोपण सम्पन्न गरी डस्टबिन वितरण, दन्त सफाइ सामग्री (ब्रस तथा अन्य ), शैक्षिक सामग्री तथा खेलकुद सामग्री (पिङ र चिप्लेटी ) साथै विद्यार्थीका लागि झोला कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट आतिथि क्लब अध्यक्ष तथा पूर्व अध्यक्षहरूद्वारा संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक आशा बस्नेत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर गुरुङ तथा शिक्षक–अभिभावक समिति अध्यक्ष डोलराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो।
क्लब अध्यक्ष डाक्टर खरेलले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान दिने सबै सहयोगी पक्षहरूलाई धन्यवाद दिँदै, विशेषतः डाक्टर सोम आले, ध्रुव चन्द्र प्रतिष्ठान, करिब २०० जना विद्यार्थीलाई ब्रस तथा दन्त सामग्री वितरण गर्ने श्रीषा दन्त क्लिनिक, सम्पूर्ण विद्यार्थीहरूलाई दन्त शिक्षा प्रदान गर्ने डाक्टर रक्षा कार्की तथा अन्य सहयोगदाताहरूप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले यस्ता सामाजिक सेवाका माध्यमबाट आफूलाई लायन्सको सेवायात्रामा अझ अघि बढ्न प्रेरणा तथा उत्साह प्राप्त भएको बताउनुभयो। पूर्व अध्यक्ष लायन शंकर पाण्डेको स्वागत रहेको कार्यक्रमको सन्चालन क्लबका सचिव पवन बस्यालले गर्नुभएको थियो ।