मर्चवारी र सम्मरीमाईमा भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण

  • बुटवल, ३१ असार । रुपन्देहीको मर्चवारी र सम्मरीमाई गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि एकदिवसीय भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुवै पालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रमको सहजीकरण भूमि समस्या समाधान आयोग रुपन्देहीले गरेको थियो ।
    सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले उपस्थित सबैलाई स्वागत गर्दै अभिमुखीकरण तथा तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।कार्यक्रमको उदघाटन गर्दै भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापामगरले आयोगले थालेका कार्यका लागि पालिकाभित्रका सबै राजनीतिक दल र पालिकाका जनप्रतिनिधिहरूले पनि निरन्तर सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
    उनले भूमि आयोगले रुपन्देही जिल्लामा भूमि समस्या समाधानका लागि हालसम्म गरेका कार्यहरुबारे जानकारी गराएका थिए ।अभिमुखीकरण कार्यक्रममा आयोगका विज्ञ सदस्य दामोदर पौडेलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको जग्गा वितरणका आवश्यक प्रक्रियाहरुबारे सहजीकरण गरेका थिए । उनले भूमि समस्या समाधान आयोगका कार्यविधि र प्रक्रियाबारे पनि जानकारी गराएका थिए ।
    कार्यक्रममा आयोगका सदस्य रामबहादुर थापा र गंगा कार्की तथा नापी अधिकृत अनिल बस्नेत पनि सहभागी थिए ।

    अभिमुखीकरण कार्यक्रममा दुवै पालिकाका उपाध्यक्ष, सम्पूर्ण वडाका वडाध्यक्ष तथा विभिन्न जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

    भूमि आयोग रुपन्देहीले जिल्लामा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पछिल्लो समय तीव्रता दिएको छ । केही दिन अगाडि मात्रै कन्चन गाउँपालिका र सियारी गाउँपालिकामा गरी करिव एक हजार जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation