
कपिलबस्तु,२९ असार । प्राचीन शाक्य गणराज्य तिलौराकोट (प्राचीन कपिलवस्तु) विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने नेपालको प्रयास विफल भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी ४७ औँ बैठकमा गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर प्राचीन कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने नेपालको प्रयास असफल भएको हो ।
युनेस्कोका मुख्य प्राविधिक सल्लाहकार इकोमसद्वारा गरिएको मूल्यांकनमा पहिले नै डिफर (स्थगन) सूचीमा राख्ने प्रस्ताव गरी प्रतिवेदन बनाईएको थियो । सोही प्रतिवेदनमा २१ सदस्यीय राष्ट्रयमध्ये कसैले पनि संशोधन नहालेपछि तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास विफल भएको छ ।प्रस्तावमाथि छलफल हुँदा विश्व सम्पदामा सूचीकृत गर्ने विषय पारित हुन सकेन । अस्वीकृत हुन पुग्यो । शुक्रबार छलफल सुरु भएर नसकिएपछि शनिबार बिहान छलफल हुँदा विश्व सम्पदामा सूचीकृत गर्ने प्रयास अपूरो हुन पुग्यो । युनेस्कोको मुख्य प्राविधिक सल्लाहकार इकोमस(इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स) ले मूल्यांकन गरी दिएको प्रतिवेदनका आधार सूचीकृत प्रयास असफल भयो । कार्य सूचीमा छलफल हुनुअघि नै इकोमसले तिलौराकोटको प्रस्ताव डिफर्ड (स्थगन) मा राख्ने सिफारिस गरेको थियो ।‘कुनै पनि मुलुकले नेपालको पक्षमा संशोधन प्रस्ताव राखेको भए प्रस्ताव पारित हुने सम्भावना हुन सक्थ्यो एक’, पुरातत्व अधिकृतले भने, ‘तर त्यसो हुन सकेन ।’ यसले नेपालको कुटनीतिक पहल कमजोर भएको देखाएको उनले बताए । तीन वर्षदेखिको अथक प्रयास र लाखौं रकम खर्च व्यर्थ भएको छ ।
शाक्यवंशीय राजधानी तिलौराकोट (प्राचीन कपिलवस्तु)लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन र बुद्ध जन्मस्थल लुम्बिनीलाई सम्भावित खतरामा राख्न नहुने विषयमा हुने छलफलमा भाग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वमा टोली फ्रान्स गएको थियो । टोली हेरिटेज डिप्लोमेसीमा कमजोर देखिँदा लामो समयदेखिको प्रयास असफल हुन पुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।
११ वर्षदेखि भइरहेको उत्खनन्, अन्वेषणले पुरातात्विक सामग्री र भग्नावशेष इसा पूर्व आठौं शताब्दीसम्मका रहेको पुष्टि भएको छ । पुरातत्वविद्हरूले तिलौराकोट दक्षिण एशियामा सबैभन्दा सुरक्षित, सग्लो र महत्वपूर्ण ऐतिहासिक सम्पदा स्थल भएको बताएका छन् ।
युनेस्कोले तिलौराकोटलाई सन् १९९६ मा टेन्टेटिभ वल्र्ड हेरिटेज साइटको सूचीमा राखेको थियो । त्यस यतादेखि त्यो सूचीभन्दा माथि उठ्न सकेको छैन । त्यसपछि सन् २०२३ मा आएर फेरि प्रक्रिया अगाडि बढाउँदै अहिले सरकार नै वल्र्ड हेरिटेज स्थलमा इन्स्क्राइब गर्न कस्सिएर लागे पनि सफल हुन सकेको छैन । यस पटक विश्वभरबाट प्रस्ताव भएका ३२ साइटलाई नोमिनेसन गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ । जसमध्ये २४ वटा सांस्कृतिक, ७ वटा प्राकृतिक र एउटा मिक्स साइट छ । ६ जुलाईबाट सुरु भएको सेसन १६ जुलाईसम्म हुनेछ ।