
बुटवल,१३ जेठ । वि.सं.२०५७ साल स्थापना भएको रुपन्देही व्यापार संघले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियान अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्त सञ्चार सेवा केन्द्र स्थापानको लागि डेढ करोड बढिको उपकरण प्रदान गरेको छ ।
संघले आफ्नो सामाजिक कार्य अन्तर्गत यस क्षेत्रको आवश्यक्ता र आम सर्वसाधारण नागरिकहरुको सेवाभावलाई पहिलो प्राथमिकता दिदै उक्त उपकरण प्रदान गरिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालसँगको सहकार्यमा प्रादेशिक अस्पतालभित्र नेपालकै नमूना र अत्याधुनिक रक्तसंचार केन्द्र (ब्लड बैंक) स्थापना गर्न लागिएको लागेको संघका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए ।
रुपन्देही व्यापार संघको आर्थिक लगानीमा स्थापना गर्न लागिएको ब्लड बैंक लुम्बिनी प्रादेशिक अस्पतालको हातामा यही २०८२ जेठ १७ गते विहान ठिक १० बजे लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आर्चायबाट उद्घाटन एवं शुभारम्भ गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए । समुद्घाटन पूर्व अस्पताल हाताभित्रै सोही दिन विहान ठिक ८ बजेदेखि वृहत रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा सम्पूर्ण संघसंस्थाहरु तथा रक्तदाता मानुभावहरुलाई सहभागिताको लागि आव्हान समेत गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको भोगाधिकार, संरक्षण र व्यवस्थापनमा रहेको अस्पताल हाताभित्र आवश्यक संरचना अस्पतालले तयार गर्ने र रुपन्देही व्यापार संघले सोमा लाग्ने उपकरण उपलब्ध गराएको छ ।
सो केन्द्रको दिगो संरक्षण, सम्र्बद्धन, मर्मत संभार र व्यवस्थापनको जिम्मेवारी अस्पतालको रहने तथा दुबै पक्षको समझदारीमा रक्त संचार केन्द्र सरकारले बनाएको राष्ट्रिय नीति अन्तरर्गत आवश्क कार्यविधि, समिति, नियमावली बनाई नीतिले तोके बमोजिम सञ्चालन गरिने प्रतिवद्धता गरिएको छ ।
रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक उपकरण पछिल्लो नया तथा आधुनिक प्रविधियुक्त रहेको छ । ती उपकरण खरिदका लागि संघले रु. १ करोड ५८ लाख २० हजार नगद लगानी गरेको छ । रक्तसंचार केन्द्रमा जर्मनमा निर्मित अत्याधुनिक मेशिनहरु जडान गरिएको छ भने एकै पटक एक हजार बराबर युनिट(पोका) रगत संकलन गरि भण्डारण गर्न सक्ने क्षमता रहेको छ । संघले ब्लड बैंक स्थापनालाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगतको मेघा परियोजनाका रुपमा अगाडी बढाएको जनाउदै त्यसको आधुनिक स्तरोन्नतिका लागि आगामी दिनमा पनि संघले जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता समेत व्यापार संघले व्यक्त गरेको छ ।