
बुटवल,४ जेठ । चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म पनि बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । वैशाख २६ गते रिलिज यो फिल्मको उत्साहजनक व्यापारसँगै कलाकारसहित निर्माण टोली मोफसल यात्रामा निस्केको छ ।निर्माण घोषणादेखि नै चर्चामा रहेको टिजर, ट्रेलर र गीत–संगीतले दर्शकमाझ राम्रो ‘हाइप’ बनाएको यस चलचित्रका कलाकार तथा निर्माण टोलीले बुटवलका दर्शकहरुसँग पनि भेट गरेका छन् । मोफसल यात्रा अन्तरगत शनिबार बुटवल आइपुगेको कलाकारसहितको निर्माण टोलीले बुटवलका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको हो । यसैबीच आइतबार विहान तिलोत्तमास्थित होटल पौवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता विपिन कार्कीले दर्शकबाट उत्साहजनक माया प्राप्त भएको उल्लेख गरे । नेपाल चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बच्चादेखि बुढा उमेरसम्मका दर्शक हलसम्म पुग्ने गरेको र सबैबाट उत्तिकै माया र सकारात्मक प्रतिक्रिया पाउन सफल भएको दाबी गरे । बुटवलमा आउदा आफ्नै घर परिवार जस्तै लाग्ने भन्दै बिपिनले बुटवलको माया सधै पाइरहन पाउ भन्दै खुसी व्यक्त गरे। ऊनको स्वीटरबाटै डेब्यू गरेका नायक एलेक्स पारसले माफसल यात्राले आफूलाई उत्साह थपिदिएको प्रतिक्रियाँ दिँदै फिल्म हलमा पुग्दा दर्शकले देखाउने प्रतिक्रियाहरुबाट आनन्द प्राप्त गरिरहेको उल्लेख गरे । यसैगरी पहिलोपटक फिल्म यात्रामा मोफसल निस्केकी नायिका परीक्षा लिम्बु, गायक सुजन चापागाईं तथा कार्यकारी निर्माता मिलन खत्रीले मोफसल यात्राको अनुभव सुनाउँदै आफूहरुले अपेक्षा गरेकोभन्दा बढी उत्साह दर्शकमा देखिएको उल्लेख गरे । नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् । सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेको फिल्मको वितरण काफिया फिल्मस प्रा।लि र कुबेर सिने डिस्ट्रीब्युसनले गरिरहेको छ । फिल्म युनिटले बुटवलपछि चितवन, पोखरा हुँदै पूर्वमा विर्तामोडसम्म पुगेर मोफसल यात्रा समापन गर्ने जनाएको छ । कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका संस्थापक अध्यक्ष सुमन रश्मी श्रेष्ठसहित विभिन्न सञ्चारकर्मीहरुले कलाकार तथा फिल्म युनिटसँग साक्षात्कार गरेका थिए । पत्रकार डि.बी. सुस्लिङको सञ्चालन तथा चलचित्र पत्रकार संघ रुपन्देही अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।