स्वयंसेविकालाई प्रोत्साहन रकम साढे दुई लाख रुपैयाँ

  • परासी,२५ बैशाख । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरमा रहेर सेवा गरी अवधि सकिएपछि महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।
    बर्दघाट नगरपालिकालाई पूर्ण खोप एवं पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगरपालिका सुनिश्चितता तथा दिगोपना घोषणा समारोहमा बोल्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा सहित प्रतिबद्धता व्यक्त गरेका हुन् । यसअघि २ लाख दिइँदै आएकोमा अब आउँदो आर्थिक वर्षबाट त्यसमा ५० हजार थप गरिने भएको हो ।आगामी आर्थिक वर्षमा स्वयंसेविकाहरुलाई एक एक थान मोबाइल उपलब्ध गराउन र प्रोत्साहन भत्तामा वृद्धि गरी ढाई लाख पुर्‍याउने गरी सोही अनुरूप बजेट विनियोजन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए।

    ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्ने सबै गतिविधि र नागरिकको घर आँगनमै पुगेर सेवा प्रदान गर्ने कुरामा उहाँहरू बिना पारिश्रमिक अहोरात्र खट्नुभएको छ निगरपालिका पूर्ण खोप एवम् संस्थागत प्रसूति सेवायुक्त नगर घोषणामा स्वयंसेविकाको महत्त्वपूर्ण योगदान रहेको छ त्यसैले यो घोषणा गरेको छु’, श्रेष्ठले भने ।
    नगरपालिकाले नगरभित्र हाल सेवा दिइरहेका ४४ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई आगामी आ।ब।बाट १५ हजार बराबरको मोबाइलसमेत उपलब्ध गराइने नगरप्रमुख श्रेष्ठले बताए ।
    नगरप्रमुखको प्रतिबद्धतापश्चात् कार्यक्रममा सहभागी स्वयंसेविकाहरू निकै हर्षित हुँदै थप ऊर्जा मिलेको र निस्वार्थ समाजसेवाप्रति अझै थप मनोबल बढेको बताएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation