कक्षा १२ को परीक्षा आजदेखि, पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै

  • बुटवल २१ बैशाख । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरे ।  परीक्षाका लागि बोर्डले देशभर १ हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
    परीक्षाका लागि त्यत्ति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी तीन लाख ९५ हजार ९०८ परीक्षार्थी तथा आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी कुल पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने अध्यक्ष शर्माले जानकारी दिए ।त्यसैगरी परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ । परीक्षार्थीलाई परीक्षा हलभित्र मोबाइल फोन, स्मार्ट घडीलगायत इलेक्ट्रोनिक डिभाइस (लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटरबाहेक) लैजान निषेध गरिएको बोर्डले जनाएको छ ।
    परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, उर्दू व्याकरण विषयको परीक्षा हुनेछ । परीक्षामा साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७८, ७९, ८० र ८१ हुने)र प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थी (रजिस्ट्रेशन नम्बरका सुरुका दुई अङ्क ७९, ८०, ८१ हुने) सहभागी हुने बोर्डले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation