सिद्धार्थनगरले भन्यो ,बाँझो जमिनमा फोहोर नफालौं, खेती गरौं

  • भैरहवा १३ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले घडेरी, बाँझो जमिन र सार्वजनिक स्थलमा फोहार नफाल्न नगरबासीमा अनुरोध गरेको छ । बरु घडेरी र बाँझो जमिनमा खेती गर्न नगरपालिकाले सुझाव दिएको छ । यदि नियम उल्लंघन गरेको पाइए कारबाही गरिने चेतानी नगरपालिकाको छ ।
    गर प्रमुख इश्तियाक अहमद खाँले सूचना जारी गर्दै घर वरिपरी, घडेरी र सार्वजनिक स्थलको सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । ‘बजार क्षेत्रभित्र रहेका खाली जमिनमा विभिन्न किसिमका झारपात उम्रने तथा फोहोरमैला फाल्ने स्थानको रुपमा परिणत हुँदा त्यसबाट वातावरण एवं नगरको सुन्दरतामा समेत प्रतिकुल असर परेको छ’, सूचनामा भनिएको छ ।
    जथाभावी फोहोर फाल्दा यसले गर्मी याममा आगलागीको जोखिम, वर्खायाममा सर्प, किराफट्याङ्गा, लामखुट्टे समेत बढाएको भन्दै सरसफाइमा ध्यान दिन नगरपालिकाले आग्रह गरेको छ । ‘बजार क्षेत्रभित्र आ–आफ्नो घरघडेरी, खाली एव बाँझो जग्गाहरूमा माटो पाटी जग्गाको सरसफाई गरी तरकारी, फलफूल लगायत अन्य खेतीपाती गर्न नगरवासीमा हार्दिक अनुरोध गर्दछौं’, नगर प्रमुख खाँद्वारा जारी सूचनामा भनिएको छ, ‘घरघडेरी, खाली तथा बाँझो जमिनको सरसफाई कार्य नगरेको पाइएमा प्रचलित एवं पालिकाको नियमानुसार कारबाही हुनेछ’, सूचनामा भनिएको छ ।
    नगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थलमा फोहोर फ्याँक्नेलाई कारबाही थालेको छ । शुक्रबार मात्रै ६ व्यवसायिक फर्मलाई पत्र काट्दै जनही पाँच हजारका दरले जरिवाना गरिएको नगरपालिकाले जनाएको छ । सहरका मुख्य सार्वजनिक स्थलमा फोहार फाल्दा दुर्गन्धित हुने गरेको छ । दैनिकरुपमा नगरपालिकाले सरसफाई गर्नुका साथै घरघरमा ट्याक्टर मार्फत् फोहोर उठाउने गरिए पनि स्थानीयले यसको बेवास्ता गर्दै सार्वजनिक स्थलमा फोहोर फाल्न थालेपछि कारबाही थालिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation