दीपमा पृथ्वी पर्यावरण सचेतना कार्यक्रम सम्पन्न

  • बुटवल,११ वैशाख । विश्व पृथ्वी दिवसको अवसरमा दीप बोर्डिङ हाई स्कूल, बुटवलमा वृत्तचित्र प्रस्तुति र अन्तरक्रियात्मक सत्रसहितको पर्यावरण सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम पर्यावरण संरक्षण समाज नेपाल, बुटवल रूपन्देही र बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयको संयुक्त आयोजना थियो । कार्यक्रममा वातावरणीय संरक्षणका विविध पक्षमा प्रस्तुतिहरू दिइए । वक्ता तथा सहजकर्ताहरूले पृथ्वीको संरक्षण हामी सबैको साझा जिम्मेवारी रहेकोमा जोड दिँदै वातावरणमैत्री अभ्यासमा अहिलेको पुस्ताको संलग्नता अनिवार्य रहेको धारणा राखे ।
    विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विद्यालयस्तरमै हरियाली प्रवर्द्धनका कार्यक्रम अभियानका रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै तिमीहरूको आन्तरिक मूल्यांकन पनि पर्यावरणीय चेतनासँग जोडिएको उल्लेख गरे । पर्यावरण संरक्षण समाजका अध्यक्ष गङ्गा पोखरेलले प्लास्टिक नियन्त्रणका लागि सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गर्दै आफ्नो प्रस्तुति दिइन् । उनले प्लास्टिक प्रदूषणले वातावरण, जैविक विविधता र मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पारिन् । पोखरेलले प्लास्टिक नियन्त्रणलाई साझा दायित्वका रूपमा बुझ्न र सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

    बुटवल उपमहानगरपालिका वडा नं. ८ की वडा सदस्य सविता बिकले कानुनी प्रावधान, जनचेतना अभिवृद्धि, पुनः प्रयोगयोग्य सामग्रीको प्रवर्द्धन र स्थानीय तहको सक्रियता आवश्यक रहेकोमा जोड दिँदै नगरलाई बालमैत्री बनाउने प्रक्रियामा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन् । बुटवल उपमहानगरपालिका फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले नगरपालिकाले जल स्रोत संरक्षण, पानीको सदुपयोग तथा वर्षा पानी संकलनजस्ता व्यवहारिक अभ्यासलाई प्राथमिकतामा राखेको जानकारी दिए । कार्यक्रममा पर्यावरण संरक्षण समाजका उपाध्यक्ष अर्जुन ज्ञवालीले हरित जीवनशैली, स्थानीय उत्पादन प्रयोग तथा साइकल चलाउने अभ्यासबाट दिगो वातावरणीय सन्तुलन सम्भव हुने तर्क प्रस्तुत गरे ।

    सचिव कृष्ण गाउँलेले संवादात्मक माध्यम, सचेतनामूलक कला र वातावरणीय शिक्षामार्फत जनचेतना अभिवृद्धि गर्न सकिने धारणा राखे भने सहजकर्ता अशेष भण्डारीले मानवीय क्रियाकलापले वातावरणमा पार्ने असर र समाधानका उपायबारे प्रष्ट पारे । उनले डिजिटल मिडियाको सशक्त प्रयोगमार्फत वातावरणीय सन्देश प्रवाह गर्न सकिने विषयमा पनि प्रकाश पारे । वक्ताहरूले फोहोर व्यवस्थापन, पुनःप्रयोग, जैविक विविधताको संरक्षण, नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने जिम्मा विद्यालय, समुदाय र नीति निर्माण तहबीचको समन्वयबाट मात्रै सम्भव हुने निष्कर्षमा पुगे ।

    कार्यक्रमको पहिलो चरणमा कक्षा ६, ७ र ८ का करिब तीन सय विद्यार्थी सहभागी थिए। वृत्तचित्र हेरेपछि अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले वातावरण संरक्षणको सुरुआत आफू र घरपरिवारबाटै गर्नुपर्ने आवश्यकता औंल्याउँदै जिम्मेवार नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पर्यावरण मैत्री झोला वितरण गरिएको थियो । कार्यक्रममा सहप्राचार्य कलाधर अर्याल, समाजका पदाधिकारी बनिका भट्टराई, विनिता भट्टराईसहित विद्यालयका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप प्रभावकारी बनायो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation