सुमित्रा मेमोरियल क्यान्सर अस्पतालको शिलान्यास

  • बुटवल,१० वैशाख । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ६ स्थित बेथरीमा बुधबार सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका हुन् ।
    सो अवसरमा मुख्यमन्त्री आचार्यले क्यान्सर जस्ता नसर्ने रोगको प्रभाव बढ्दै जानु मानव जीवनका लागि चिन्ताको विषय भएको बताए । उनले सरकारको एकल प्रयासले मात्र सबैको पहुँचमा उपचार सेवा पुर्याउन कठिन हुने भएकाले निजी क्षेत्रबाट भइरहेका प्रयासहरूलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे ।
    अस्पतालका संस्थापक अर्जुन पौडेलका अनुसार क्यान्सर रोगको उपचार तथा गुणस्तरीय र सस्तोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ अस्पताल निर्माण थालिएको हो । २ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा डेढ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो अस्पताल १ सय शय्याको हुने पौडेलले जानकारी दिए । डेढ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो ।
    विदेशमा कार्यरत क्यान्सर रोग विशेषज्ञ, नेपाली व्यवसायी, क्यान्सरबाट परिवारका सदस्य गुमाएका व्यक्ति, क्यान्सर सर्भाइभर तथा अन्य व्यवसायीहरूको संयुक्त लगानीमा अस्पताल निर्माण कार्य सुरु गरिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation