
बुटवल, २९ चैत । बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा विद्यार्थी, शिक्षक कर्मचारीको दन्त स्वास्थ्य परीक्षण कार्यक्रम भएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्मको वार्षिक परीक्षा, कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा तथा कक्षा १२ को प्रि–बोर्ड परीक्षाको नतिजा प्रकाशन गरिएको हो । विद्यालयको विभिन्न तहमा उत्कृष्ट नतिजा सहित ९८ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको परीक्षा संयोजक तथा उपप्राचार्य उमेश रेग्मीले जानकारी दिनुभयो । नतिजा सन्तोषजनक रहेको तथा आगामी दिनहरुमा पनि अझ राम्रो नतिजा दिलाउनकालागि विद्यालय अहोरात्र खटिरहने विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी गराउनु भएको छ । विद्यालयमा नतिजा प्रकाशनसँगै माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिइएको सहप्राचार्य गौतमले बताउनुभयो । यसैगरी शुक्रबारनै विद्यालयमा निःशुल्क दन्त शिविर कार्यक्रम भएको छ । विद्यालयको आयोजना र श्रीसा डेन्टल, बुटवलको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा अभिभावक, विद्यार्थी तथा शिक्षक, कर्मचारी गरी करिब ४०० जनाको दन्त परीक्षण गरिएको थियो । डा. श्रीप्रसाद खरेल, डा. रक्षाकार्की तथा उहाँका सहयोगीहरुको टोलीद्वारा सञ्चालित उक्त शिविरमा दाँतको प्रारम्भिक परीक्षण गरिएको र आगामी दिनहरुमा पनि यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गरिने जानकारी विद्यालयलका प्राचार्य कृष्ण न्यौपानेले गराउनुभयो ।