लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

  • अर्घाखाँची, ९ फागुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्नु भएको हाे । सामाजिक विकास मन्त्रालयकाे आयाेजनामा प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिएको छ ।
    पूर्व विद्यार्थिकाे तर्फबाट मुख्यमन्त्री आचार्यले बुवा-आमाकाे स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँकाे टिकाराम- तारादेवी अक्षयकोष स्थापना गर्नु भएको छ । याे अक्षयकोषकाे ब्याजबाट प्राप्त हुने रकमबाट दलित जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा पुरस्कृत गरिनेछ ।
    यस्तै मेराे विद्यालय मेराे दायित्व अभियानकाे काेषमा ५५ हजार ५ सय ५५ रुपैयाँ जम्मा गर्दै अभियानकाे सुभारम्भ गर्नु भएको हाे । `सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर बढाउन जरुरी छ । याे अभियानमा पूर्व विद्यार्थीहरुकाे अतुलनीय र रचनात्मक याेगदानकाे खाँचो छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`सामुदायिय विद्यालयलाइ नमुना बनाउनकाे लागि याे अभियान काेशेढुंगा सावित हुने छ ।´ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीकाे मनाेबल उच्च बनाउन मेराे विद्यालय मेराे दायित्व अभियानले सहयाेग पुर्‍याउने बताउनु भयाे ।
    अब नियमित रुपमा अभियान चल्छ । प्रदेश सरकारले अभियान अगाडि बढाउने छ´उहाँले भन्नुभयाे-`स्वदेश तथा विदेशमा रहनु भएका पूर्व विद्यार्थिले शैक्षिक र भाैतिक सुधारकाे लागि आजकाे दिनले ढाेका खाेलेकाे छ । जिम्मेवारीकाे वाेध गराउन अभियान थालिएको हाे । पैसा नहुन सक्छ तर, सिप, ज्ञान र अनुभवलाई साटासाट गर्न सकिन्छ ।´याे विद्यालयमा मुख्यमन्त्री आचार्यले आधारभुत तहकाे शिक्षा आर्जन गर्नु भएको थियाे ।
    प्रदेश भित्रका एकसाथ १७ वटा विद्यालयबाट अभियानकाे सुभारम्भ गरिएको हाे । ७१ प्रतिशत बालबालिकाकाे राेजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भराेसा र विश्वास बढाउन आवश्यक रहेकाे भनाइ मुख्यमन्त्री आचार्यकाे छ ।
    सार्वजनिक बिद्यालकाे शाख र गरिमालाई कायम गर्न सबै सराेकारवालाकाे सामुदायिक विद्यालय प्रतिकाे जवाफदेहीता वृद्दि गर्न प्रदेश सरकारकाे नीति कार्यक्रममा मेराे विद्यालय मेराे दायित्व सामाजिक अभियान समावेश थियाे ।
    यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।
    प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । माध्यमिक शिक्षा परीक्षाको नतिजाले लुम्बिनी प्रदेशमा सुधारको आवश्यकता देखाए अनुसार अभियान थालिएको हो ।
    २०८० को एसईई परीक्षामा सहभागी ८० हजार दुई सय २७ विद्यार्थीमध्ये ३१ हजार एक सय तीनजना मात्र ग्रेडेड हुन सफल भएका थिए, जसअनुसार नतिजा ३८.७२ प्रतिशत मात्र रहेको छ । राष्ट्रिय औसत ४७.८७ प्रतिशत हुँदा लुम्बिनी प्रदेशको नतिजा कमजोर देखिएको छ । सामुदायिक विद्यालयमा झनै कमजोर अवस्था रहेको छ । प्रदेशमा चार हजार पाँच सय ३१ सामुदायिक विद्यालयमध्ये दुई हजार ६५ विद्यालयमा विद्यार्थी संख्या १०० भन्दा कम छ । यी विद्यालयको संख्या कुल विद्यालय संख्याको ४५.५७ प्रतिशत हो । विगतमा समुदायले अपनत्व लिई सञ्चालित विद्यालयमा आज त्यही समुदायको संलग्नता कमजोर बन्दै गएको छ ।
    अभियानमार्फत् विद्यालय व्यवस्थापन, सामाजिक जागरुकता, आर्थिक स्रोत परिचालन, भौतिक सुधार तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ ।
    यस अभियानअन्तर्गत शिक्षाबाट बञ्चित वर्गलाई मूलधारमा ल्याउन आर्थिक तथा भौतिक सहयोग जुटाइनेछ । विविध शैक्षिक प्रतियोगिताका आयोजना, छात्रवृत्ति कोष स्थापना, सूचना प्रविधि सामग्री हस्तान्तरण तथा व्यावसायिक मार्गदर्शन कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
    विद्यालयलाई खेलकूद तथा अतिरिक्त क्रियाकलापका लागि सहयोग पुर्याइनेछ । सामाजिक विभेद, बालविवाह, घरेलु हिंसा, किशोरावस्थामा हुने चुनौतीहरू तथा लागूपदार्थ दुव्र्यसनजस्ता हानिकारक सामाजिक अभ्यासविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । विपत् व्यवस्थापनका पूर्वतयारी गतिविधि तथा स्वास्थ्य, पोषण, खोप र जीवनोपयोगी सीपबारे जानकारी प्रदान गरिनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation