
बुटवल ,१६ माघ । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नं १ पक्लिहवामा नवनिर्मित तीन कोठे भवनको बुधबार एक समारोह बिच समुद्घाटन भएको छ । पक्लिहवा मा.वि.व्यवस्थापन समितिका अध्यक्ष युवा समाजसेवी सुशील गुरुङ्गको सभापतित्व एवमं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा भवन उद्घाटन भएको थियो । कार्यक्रममा उद्घाटन मन्तव्य दिदैं नगर प्रमुख खानले शिक्षाको विकाश विना कुनै पनि क्षेत्रको विकाश सम्भव नरहेकोले नगर पालिका शिक्षाको विकाशमा सदैव सकारात्मक रहेको र यस विद्यालयको शैक्षिक मात्र नभई पूर्वाधारको विकाशमा पनि आफ्नो सहयोग रहने बताए ।
सो कार्यक्रममा अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक पूर्वाधारले मात्र विद्यालयको समग्र मापन नगर्ने भएकोले यसलाई चलायमान बनाउन पनि शैक्षिक गुणस्तर, परिक्षाको परिणाममा सुधार, विद्यार्थीको संख्यामा वृद्धि र अभिभावकहरुको विश्वासलाई जित्ने गरी विद्यालयले आफ्नो क्रियाकलाप केन्द्रीत गर्नुपर्ने बताए । उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भीमबहादुर थापा, शिक्षाप्रेमी तथा समाजसेवी सुरेन्द्र जंग थापाले शिक्षा क्षेत्रमा रहेका अवसर र चुनौति, विद्यालयको सबल र कमजोर पक्षका बारेमा जानकारी दिएका थिए ।
बेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, समाजसेवी लेखनाथ भट्टराई, याम बहादुर थापा, जनप्रतिनिधि हरिमाया गुरुङ्ग, मिन बहादुर गुरुङ्ग, अनिल कुमार केसी, पुर्व वडाअध्यक्ष रमेश मल्ल, विजयनाथ धवल, सिनपा शिक्षा शाखाका कृष्ण पोखरेल, श्याम खनाल, राम बहादुर गुरुङ्ग, हरिराज विष्ट, केदारनाथ कुर्मी, योगेन्द्रनाथ पाण्डे, राकेश गुरुङ्ग तेजेन्द्र गुरुङ्ग, निर्माण व्यवसायी प्रितम रौनियार लगायतको उपस्थिति रहेको थियो । तीन कोठे भवन सिद्धार्थनगर नगरपालिकाको लगानी तथा सहयोगमा कुल रु.५४,७२,४२१ लागतमा निर्माण व्यवसायी प्रितम विल्डर्सले निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराइएका थिए । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत तथा शिक्षक देवीप्रसाद न्यौपानेकोे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।