खेल क्षेत्रमा प्रशस्त अवसरहरु छन :मुख्यमन्त्री आचार्य

  • नवलपरासी, ९ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुका लागि अवसरको कमी नभएको बताएका छन् । सुनवल नगरपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको रमवापुर माध्यमिक विद्यालयमा बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रमा उत्कृष्टता हासिल गर्नेहरुलाई अवसरको कमी नरहेको बताएका हुन्
    सरकारले खेल क्षेत्रको पूर्वाधार विकासदेखि विद्यालय तहबाट खेलाडी उत्पादन गर्ने काममा प्राथमिकतामा राखेर काम गरिरहेको उनले स्पष्ट पारे । ‘कुनै समय थियो खेल भनेपछि अभिभावक पनि टाढिने, घरबाट समेत अवसर नदिने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । समय फेरिएको छ । खेल क्षेत्रमा प्रशस्त अवसरहरु छन’उनले भने,‘सरकारले नै खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ सबै खेल विधालाई सरकारले समानरुपमा प्राथमिकतामा राखेर अघि बढाइरहेको समेत उनले बताए । ‘देशको पहिचान र चिनारी खेल क्षेत्रले दिएको छ । विश्व जगतमा नेपालको नाम अब खेलकुदबाट चिनिन थालेको छ । यो सुखद विषय हो’उनले भने,‘राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा चर्चा हुन थालेको छ ।’
    तीन तहका सरकारले खेल क्षेत्रको समान विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । खेलको माध्यमबाट पर्यटकहरु भित्र्याउन सकिने र त्यसले आर्थिक विकासमा समेत योगदान गर्ने उनले बताए । ‘अहिले खेलको माध्यमबाट पर्यटकहरु नेपाल भित्रिने क्रम बढेको छ । यो सुखद विषय हो’उहाँले भन्नुभयो,‘खेलाडी विद्यार्थीहरु उच्च मनोबलका साथ अघि बढ्न जरुरी छ ।’
    विद्यालय तहबाटै खेलाडी उत्पादनका लागि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गरे । रमवापुर माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको र अन्य विद्यालयहरुको लागि स्रोत केन्द्रको रुपमा स्थापित भएको उनले बताए ।
    विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष सालिकराम सापकोटाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य खड्ग बस्नेत लगायतको उपस्थिति थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation