भैरहवा ,१९ भदौ । यु.सि.यम.यस. शिक्षण अस्पताल, भैरहवालाई स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने अन्तराष्ट्रियस्तरको उच्च गुणस्तर मापण प्रमाण–पत्र एन.ए.वि.एच. (NABH -National Accreditation Board for Hospitals & Healthcare Providers) मान्यता प्राप्त गरेको छ । यो मान्यताले अस्पतालको विश्वस्तरीय स्वास्थ्य सेवा, बिरामी सुरक्षा र पूर्वाधारको गुणस्तरलाई प्रमाणित गर्ने गर्दछ ।
यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले एन.ए.वि.एच. मान्यता प्राप्तिले अस्पताललाई अवसरका साथ चुनौती पनि प्रदान गरेको, साथै अस्पतालले सदैव यस मानकलाई कायम राख्न बिरामीको सुरक्षाका लागि उपचारका क्रममा कुनै पनि किसिमको संक्रमण वा जोखिम नहोस् भनी उच्च सतर्कता अपनाउने, अस्पतालमा कार्यरत चिकित्सक, नर्स र प्राविधिकहरूलाई समायानुकुल पूर्ण रूपमा योग्य र तालिम प्राप्त बनाउने, औषधिको सही प्रयोग, बिरामीको अधिकारको रक्षा र उपचार खर्चमा पारदर्शिता कायम गरिने र पूर्वाधारमा आकस्मिक कक्ष, सघन उपचार कक्ष र शल्यक्रिया कक्षहरु इत्यादिलाई अत्याधुनिक विश्वस्तरीय मापदण्ड अनुसार रहेको र यसलाई आवश्यक्ता अनुरुप अद्यावधिक गरिने बताउनुभयो ।
एन.ए.वि.एच. मान्यताले भारत सरकारको पुर्व सैनिक, आश्रित परिवार तथा केन्द्र सरकार मातहतका पुर्व कर्मचारीहरुको लागि अस्पतालमा सञ्चालित इ.सि.एच.एस.(ECHS) सेवालाई पनि थप सहज, प्रभावकारी र व्यवस्थित बनाउने छ ।












