पाल्पा,२६ जेठ । रामपुर नगरपालिकाले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरण र बाल विवाह रोकथाम सम्बन्धी सचेतना प्रदान गरेको छ । किशोरी तथा बालिकासंग उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका निजि तथा सामुदायिक गरी ६ वटा विद्यालयमा सचेतनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाले वडा नं.3 को जनविकास माध्यमिक विद्यालय र रजघरा इङ्गिलस बोर्डिङ स्कुल रजघरा, वडा नं. ५ को भुपू सैनिक राईजिङ इङ्गिलस बोर्डिङ स्कल मटेरी र रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय , वडा नं. ७ को आनन्द निकेतन विद्याश्रम र वडा नं. ८ को गंगा माध्यमिक विद्यालय एक्लेटारमा सचेतना कार्यक्रम गरेको हो । अभियान अन्तर्गत मंगलबार रजघरामा भएको कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले रामपुर नगरपालिकालाई यही २०८३ साल मंसिर ५ गते भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । यसका लागि उपप्रमुखसंग बालिका कार्यक्रमलाई पनि बाल विवाह र आत्महत्या सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले पछिल्लो समय बालविवाह र बालबालिकाको आत्महत्याका घटना बढ्दो रुपमा रहेकाले यसको रोकथाम र न्युनिकरणका लागि सबै सचेत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । बाल विवाह समाजमा विकृतिको रुपमा रहेको भन्दै यसको न्युनिकरण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले बाल विवाह रोक्नका लागि बालबालिका र विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । साथै समाजमा हुन सक्ने यस्ता घटनालाई रोकथाम गर्नका लागि समाजलाई सु-सूचित गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बाल विवाहले सामाजिक , शारिरिक, आर्थिक रुपमा असर पुर्याउने भन्दै वाल विवाह गर्न कानुनले समेत वर्जित गरेको बताउनुभयो । यसैगरी इलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक लाल बहादुर सुनारले बाल विवाहबाट निम्तिन सक्ने जोखिम , कानुनी प्रावधान, आत्महत्या रोकथामका उपाय लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
बालबालिकालाई आत्महत्या र बालविवाह सम्बन्धी सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको महिला बालबालिका शाखा प्रमुख तथा बाल कल्याण अधिकारी पुजा परियारले बताउनुभयो । जनविकास माध्यमिव विद्यालय र रजघरा इङ्गिलस बोर्डिङ स्कुल रामपुर ३ रजघरामा गरी दुई स्थानमा भएको कार्यक्रम रामपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष दामोदर पाठकको अध्यक्षता र उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महिला बालबालिका शाखा प्रमुख तथा बाल कल्याण अधिकारी पुजा परियारले गर्नु भएको थियो ।












