भूमिकास्थानको मदिनडाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता

  •  

    अर्घाखाँची,२४ जेठ । खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

    प्रतियोगिताको उद्घाटन भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले गर्नुभएको थियो।
    उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले पछिल्लो समय युवा पुस्ता सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदा उनीहरूको सोच र ऊर्जा नकारात्मक दिशातर्फ मोडिदै गएको बताउदै खेलकुदले युवालाई अनुशासित, जिम्मेवार तथा मानसिक र शारीरिक रूपमा स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले खेलाडीहरूको संरक्षण, प्रोत्साहन र व्यवस्थापनमा स्थानीय तहले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    महादेव फार्मेसी धारापानीका सञ्चालक रामबहादुर केसीको अध्यक्षता तथा मणिराम कुँवरको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा नगरउपप्रमुख बालाकृष्ण बन्जाडे, भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका अधिकृत सुन्दरलाल विक, प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष जितेन्द्र खत्री तथा जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष प्रेम आलेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै खेलकुदले समाजमा एकता, अनुशासन र सकारात्मक ऊर्जा प्रवाह गर्ने धारणा राख्नुभयो।

    प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार रुपैयाँ, द्वितीय हुने टोलीले ३० हजार रुपैयाँ, तृतीय हुने टोलीले २० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। स्थानीय स्तरमा खेल प्रतिभाको खोजी, प्रोत्साहन तथा खेल संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको आयोजकले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation