बुटवल,२३ जेठ । रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा सञ्चालित “रोट्याक्ट यूथ आइकन–२०८३” अन्तर्गतको अडिसन शनिबार बुटवलमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। युवाहरूको नेतृत्व क्षमता विकास, व्यक्तित्व निखार तथा वक्तृत्वकलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।
अडिसन चरणमा बुटवल तथा आसपासका विभिन्न क्याम्पसहरूबाट ४८ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले ‘डिजिटल युगमा जिम्मेवार युवा’ शीर्षकमा तीन मिनेटको समयसीमाभित्र आफ्ना धारणा प्रस्तुत गरेका थिए। प्रस्तुतिहरूमा डिजिटल प्रविधिको सकारात्मक तथा नकारात्मक प्रभाव, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, र भविष्यमा युवाको भूमिकाजस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए।
प्रतियोगितामा सहभागीहरू मध्येबाट उत्कृष्ट प्रस्तुति, स्पष्ट विचार र प्रभावकारी अभिव्यक्तिका आधारमा २० जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनालले जानकारी दिए। उनका अनुसार फाइनल चरण जेठ ३० गते भव्य रूपमा आयोजना गरिनेछ।
अडिसन चरणको मूल्याङ्कनका लागि गठित निर्णायक मण्डलमा अमर क्षेत्री, कृष्ण पाण्डे र बालकृष्ण पाण्डे रहेका थिए। प्रमुख निर्णायक क्षेत्रीका अनुसार सहभागीहरूको मूल्याङ्कन १०० पूर्णाङ्कका आधारमा गरिएको थियो। जसमा विषयवस्तु तथा सन्देश (३० अंक), प्रस्तुतीकरण (२५ अंक), भाषा तथा उच्चारण (२० अंक), मौलिकता तथा सिर्जनशीलता (१५ अंक) र समय व्यवस्थापन (१० अंक) लाई आधार मानिएको थियो।
कार्यक्रममा रोट्याक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका आईपीडीआरआर विक्रम क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले युवाहरूमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै रोट्याक्ट अभियानमा अझ धेरै युवाहरूलाई जोडिन आग्रह गरे।
त्यस्तै, क्लबका पूर्वअध्यक्ष बालकृष्ण पाण्डे, उपाध्यक्ष रमेश आचार्यलगायत वक्ताहरूले पनि युवाहरूलाई अनुशासित, आत्मविश्वासी र नेतृत्वक्षम बनाउन यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे। उनीहरूले यस्ता प्लेटफर्मले प्रतिभाशाली युवाहरूलाई आफ्नो क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने बताए।
कार्यक्रममा प्रशिक्षक रमेश अर्यालले सहभागी विद्यार्थीहरूलाई “जीवनमा कसरी सफल बन्न सकिन्छ” भन्ने विषयमा केन्द्रित रही उत्प्रेरणामूलक प्रशिक्षण प्रदान गरेका थिए। उनले लक्ष्य निर्धारण, निरन्तर अभ्यास, सकारात्मक सोच र आत्मअनुशासनलाई सफलताको मुख्य आधारका रूपमा व्याख्या गरेका थिए।
कार्यक्रम रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्वारा बुटवल उपमहानगरपालिकासँगको सहकार्य तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा सम्पन्न भएको क्लबका सचिव केशव पौडेलले जानकारी दिए। उनले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा युवामैत्री कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताए।
साथै, क्लबले आइतबार बिहान आयोजना गर्न लागेको ‘मर्निङ वाक विथ मेयर’ कार्यक्रमअन्तर्गत बुटवलको नयाँ बसपार्कदेखि हिलपार्कसम्म सामूहिक पदयात्रा गरिने जानकारी पनि दिइएको छ। कार्यक्रममा नगर प्रमुख तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।












