सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यकः मुख्यमन्त्री आचार्य

  • अर्घाखाँची,६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको बताउनुभएको छ ।

    आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका-६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो ।

    विद्यालयबाट शिक्षा हासिल गरेर विभिन्न क्षेत्रमा पुगेका पूर्वविद्यार्थीहरूले आफ्नो ज्ञान, सीप, अनुभव र स्रोतलाई विद्यालयको विकाससँग जोड्न सके शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ थियो ।
    लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्वविद्यार्थीहरूको योगदान बढाउने गरी मेराे विद्यालय मेराे दायित्व कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    विद्यालयको शैक्षिक उपलब्धि सुधार गर्न शिक्षक, अभिभावक, व्यवस्थापन समिति र पूर्वविद्यार्थीबीच सहकार्य आवश्यक रहेको प्रदेश सरकारको जोड छ ।

    कार्यक्रमका क्रममा मुख्यमन्त्री आचार्यले आफूले अध्ययन गरेको विद्यालयको भौतिक पूर्वाधारको अवस्थाबारे अवलोकनसमेत गर्नुभएको थियो । विद्यालयको भौतिक संरचना विकाससँगै शिक्षण सिकाइको वातावरण सुधार गर्न पनि पूर्वविद्यार्थीहरूको सहयोग आवश्यक रहेकोमा जोड दिइएको थियो ।

    सिद्धार्थ माध्यमिक विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा पूर्वविद्यार्थीहरूलाई जोड्ने र संस्थागत सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation