देवदह, १९ रुपन्देही । भोटेकोशी क्षेत्रमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै देवदह–१, विर्तास्थित श्री खड्ग माध्यमिक विद्यालयका विद्यार्थीहरूले राहत सहयोग संकलन गरेका छन्।
कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले विद्यालयको दबाब वा बाध्यताबिना आफ्नै स्वजागरण र मानवीय भावनाबाट कक्षागत रूपमा सहयोग संकलन गरेका हुन्। विद्यार्थीहरूले आफ्नो एक–दुई दिनको खाजा खर्च कटाएर रु. ५,८६५ संकलन गरेका थिए।
विद्यार्थीहरूले संकलन गरेको उक्त रकम आज नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको विद्यालयले जनाएको छ।
बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विद्यालयले विपत्तिमा परेका परिवारप्रति ऐक्यबद्धता जनाएको छ।
विद्यार्थीहरू आफैं जागरूक भएर गरेको यस पहलले विपद्का समयमा सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।












